काठमाडौं । सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलाएको छ ।
ट्राफिक जरिवानाको विषयलाई लिएर यातायात मजदुरहरूले आज बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए ।
यातायात व्यवसायीले अनिश्चितकालका लागि यातायात नचलाउने घोषण गरेपछि सरकारले भोलि (मंगलवार) नै वार्तामा बोलाएको हो ।
वार्तामा कुरा मिलेपनि मंगलवार कार्यालय जानेहरुले गाडी चढ्न पाउने सम्भावना भने निकै कम छ । सरकारले बिहान ८ बजे वार्तामा बोलाएकाले कार्यालय समयमा सहमति हुने सम्भावना कम रहेको व्यवसायीले बताएका छन् ।
ट्राफिकले वृद्धि गरेको जरिवानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका थिए ।
बालाजु, माछापोखरी, गोँगबु र सामाखुसी चोकमा मजदुरहरूले आज सडक अवरुद्ध गरेका थिए । आन्दोलनकारीले प्रहरीका दुईवटा भ्यानमा आगजनी गर्नाका साथै माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोष्ट भत्काइदिएका छन् ।
आन्दोलनरत यातायात मजदुरलाई मङ्गलवार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बोलाइएको यातायात विभागका महानिर्देशक तुल्सी गौतमले जानकारी दिए ।
विभागले सबै पक्षलाई संयमित हुन आग्रह गर्दै पूर्वघोषित तथा अघोषित सबै मागबारे छलफलबाट समाधान गर्न पनि आग्रह गरेको छ ।
–राससको सहयोगमा