ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

घरजग्गाको दोस्रो ठूलो बजारमा कित्ताकाट खुल्यो, मन्दीमा कसरी बढ्ला कारोबार ?

२०७९ फागुन, १७  
समाचार घरजग्गा
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

चितवन । भरतपुर महानगरपालिकाले जग्गाको वर्गीकरण सकेर कित्ताकाट खुला गरेको छ । महानगरले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेसँगै कित्ताकाट पूर्ण रुपमा खुलेको हो । 

महानगर प्रमुख रेनु दाहालका अनुसार सार्वजनिक उपयोगको क्षेत्र, नदी, खोला, ताल, सिमसार क्षेत्र, खानी तथा खनिज क्षेत्र, वन क्षेत्र, सांस्कृतिक तथा पुरातात्विक महत्त्वको क्षेत्र, औद्योगिक क्षेत्र, व्यावसायिक क्षेत्र, आवासीय क्षेत्र, कृषि क्षेत्र र नेपाल सरकारले तोकेका अन्य क्षेत्र गरी जग्गाको वर्गीकरण गरिएको हो । 

भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ बमोजिम महानगरभित्रका समग्र जग्गाको वर्गीकरण गर्न भू–उपयोग कार्यान्वयन समिति गठन गरी जग्गाको वर्गीकरण गरिएको हो । उक्त समितिले सहयोग कार्यदल बनाई कार्यदलले पेस गरेको मापदण्डका आधारमा छलफल गरी जग्गाको वर्गीकरण गरिएको प्रमुख दाहालले बताइन् । 

वर्गीकरणअन्तर्गत आवासीय क्षेत्रमा ६ मिटर सडक पूर्वाधार पुगेको र ६ मिटरभन्दा साना सडकमा सडक सिमानापछिको ५० मिटर दायाँबायाँको क्षेत्र पर्ने उल्लेख छ । यस्तै ६ मिटरभन्दा ठूला सडकमा सडक सिमानापछिको ७० मिटरसम्म दायाँबायाँको क्षेत्र र व्यावसायिक क्षेत्र तोकिएको क्षेत्रपछि सडक पूर्वाधार पुगेको क्षेत्रहरूमा थप ५० मिटर आवासीय क्षेत्र हुने उल्लेख छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले कार्यपालिका बैठकले जग्गाको वर्गीकरणको मापदण्ड स्वीकृत गरी स्थानीय भू–उपयोग परिषद्लाई सिफारिस गरेको बताए । 

जग्गाको वर्गीकरणसँगै तोकिएको मापदण्डअनुसार कित्ताकाट खुला हुने प्रमुख दाहालको भनाइ छ । ‘आज महानगरपालिकाले नापी र मालपोत कार्यालयमा पत्राचार गरेसँगै भोलिदेखि कित्ताकाटको काम हुन्छ,’ उनले भनिन् । 

काठमाडौं उपत्यकापछि सर्वाधिक घरजग्गा कारोबार हुने चितवनमा लामो समयदेखि कित्ताकाट रोकिँदा कारोबार प्रभावित भइरहेको थियो । सिंगै कित्ता जग्गाको कारोबार फाटफुट भएपनि कित्ताकाट गरेर जग्गाको कारोबार हुन सकेको थिएन ।

सामान्य समयमा मासिक १० देखि १२ करोड रुपैयाँ राजस्व संकलन  हुने गरेकोमा अहिले त्यो ५ देखि ७ करोड रुपैयाँमा सीमित भएको छ । यो वर्ष माघमा चितवन मालपोत कार्यालयले ६ करोड ९४ लाख रुपैयाँ मात्र रजिष्ट्रेशन शुल्क संकलन गरेको छ । गत वर्ष माघमा भने चितवनमा ११ करोड २७ लाख रुपैयाँ रजिष्ट्रेशन शुल्क संकलन भएको थियो । त्यस्तै यो वर्ष माघ महीनामा ७९५ ओटा मात्रै लिखत पारित भएका छन् । गत वर्ष माघमा भने १ हजार ३०६ ओटा लिखत पारित भएका थिए ।

कित्ताकाट खुला भएसँगै जग्गाको कारोबार चलायमान हुने व्यवसायीले अपेक्षा गरेका छन् । राससको सहयोगमा

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)