ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

अब झापा-पोखरा सिधा हवाई उडान : १८ घण्टाको यात्रा ७० मिनेटमा झर्ने, हवाई भाडा कति ?

२०७९ फागुन, १७  
समाचार यातायात
Jagdamba Supershine Image Not Found

पोखरा । पोखरालाई हवाई उडानबाट पूर्वी गन्तव्यसम्म जोड्ने तयारी भएपछि पोखराका पर्यटन व्यवसायी खुशी भएका छन् । निजी क्षेत्रको वायु सेवा कम्पनी बुद्ध एयरले आगामी मार्च ९ देखि पोखरा-भद्रपुर सिधा हवाई उडान गर्ने तयारी गरेको छ । 

“पोखरामा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाइ कनेक्टिभिटिमार्फत पूर्व–पश्चिम जोडेर यात्रुलाई सहज सेवा प्रदान गर्न बुद्ध एयर प्रतिवद्ध छ”,स्टेशन म्यानेजर गौतम बरालले भने । उनले अब केही दिनपछि पोखरा–भद्रपुर उडान शुरू हुने जानकारी दिए ।

बरालका अनुसार पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा बुद्ध एयरका चार जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान चार स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् भने अब पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाइ उडान दुरी एक घण्टा १० मिनेटको हुनेछ । 

पोखरा–भद्रपुर सिधा उडान नहुँदा यहाँ आउने यात्रुले सास्ती खेप्नु परेकाले यात्रुको सहजताका लागि सिधा उडान सञ्चालन गर्न लागिएको उनले बताए । यसले पश्चिम क्षेत्रलाई पूर्वी गन्तव्यसँग जोडर आन्तरिक पर्यटनका साथै भारतीय पर्यटकलाई पोखरासम्म ल्याउन सघाउ पुग्ने बरालको भनाइ थियो । 
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरामा अन्तराष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै अन्य जिल्लासँगको कनेक्टिभिटी बढ्ने र आन्तरिक पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे ।

“पोखरा पर्यटकीय शहर हो, पूर्वबाट पोखरा आउन चाहने पर्यटकलाई बुद्ध एयरको सिधा उडानले सहज गराउनका साथै भारतीय पर्यटकलाई पोखरा भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ”, उनले भने ।

अध्यक्ष श्रेष्ठले यहाँ अन्तरराष्ट्रिय विमानस्थल सञ्चालन भए पनि अन्तरराष्ट्रिय उडान हुन नसकेको प्रति गुनासो गर्दै छिटोभन्दा छिटो उडानका लागि पहल गर्न सरकार र सरोकारवालासमक्ष  आग्रह गरे ।  

पोखरा पर्यटन बोर्डका प्रमुख काशीराज भण्डारीले पर्यटकहरुले छिटोे र आरामदायी यात्रामा रुची राख्ने हुँदा जति एयर कनेक्टिभिटी पर्यटकको चहलपहल पनि बढ्दै जाने बताए । पोखरा–भद्रपुर सिधा उडानले पर्यटन प्रवर्द्धन हुने उनको भनाइ थियो । सिधा उडानले पर्यटनसँगै यहाँको स्थानीय उत्पादन विक्री वितरणमा पनि सहज हुने प्रमुख भण्डारीले बताए । 

योसँगै बुद्ध एयरले मार्च ९ देखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान पनि शुरू गर्दैछ । पोखरा बास बस्नेगरी विभिन्न गन्तव्यबाट यात्रु पोखरासम्म आउने भएपछि पर्यटकको सङ्ख्या बढ्ने यहाँका पर्यटन व्यवसायीको अपेक्षा छ ।

अहिले पोखरा-भद्रपुर सडक यात्रा गर्दा करीब १८ घण्टा लाग्छ भने रू. २४ सयदेखि २७ सयसम्म गाडीभाडा तिर्नुपर्छ । ७० मिनेटमै यात्रा गर्न सकिने हवाई उडानबाट भाडा रू. ९ हजार ६८५ मात्र पर्ने बुद्ध एयरले जनाएको छ । -रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)