ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चितवन महानगरमा १० औं अर्बका पूर्वाधार निर्माणाधीन, 'एशियाली मापदण्डको नमुना शहर बनाउने'

२०७९ फागुन, १९  
समाचार विकास
Tvs Raider Image Not Found

चितवन । यतिबेला भरतपुर छिर्ने जो–कोहीलाई अनौठो लाग्न सक्छ, यहाँ अहिले जताततै निर्माणका काम भइरहेका छन् । बाहिरबाट आएका मानिसमात्रै होइन, महानगरवासीलाई पनि बाटो कता खुला छ र कता बन्द छ भन्ने थाहा पाउन मुस्किल छ । धेरै सडक बनिरहेका छन् भने ठूला पूर्वाधार आयोजनाका काम धमाधम भइरहेका छन् ।

सडकमा हिँड्नेहरूलाई समेत कठिन हुने गरी कामले तीव्रता पाएको छ । भरतपुर महानगरपालिका, बागमती प्रदेश सरकार र सङ्घीय सरकारका विभिन्न मन्त्रालयका बजेटमा यहाँ अर्बौँका काम भइरहेका छन् ।

महानगर प्रमुख रेनु दाहालको पहिलो कार्यकालमा सम्झौता भएका धेरै कामले अहिले तीव्रता पाएका छन् भने दोस्रो कार्यकालमा भएका सम्झौता अनुसारका काम पनि शुरू भएका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना, नारायणी नदी व्यवस्थापन आयोजना, डिभिजन सडक कार्यालय, डिभिजन खानेपानी कार्यालय, हुलाकी सडक आयोजना, पर्यटन मन्त्रालयका ठूला विकास निर्माण भइरहेका छन् भने प्रदेश र महानगरका विकास योजना पनि अघि बढेका छन् ।

सघन शहरी तथा भवन निर्माण आयोजना चितवनका प्रमुख प्रकाश अर्यालले पश्चिम चितवनमा पहिलो चरणअन्तर्गत ८८ करोड रुपैयाँ ठेक्कामध्येको महानगरका विभिन्न स्थानमा २६ किलोमिटर सडक निर्माण सम्पन्न भएको र १० किलोमिटर बन्ने क्रममा रहेको जानकारी दिए । “दोस्रो चरणको २६ किलोमिटर सडकमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ भने ६ किलोमिटर निर्माण भइरहेको छ”, उनले भने ।

सोही आयोजनाअन्तर्गत २५ करोड रुपैयाँ लागतमा निर्माण शुरू गरिएको रानीपोखरी र लक्ष्मीणनारायण मन्दिरको ८० प्रतिशत काम सकिएको छ । साथै ५ किलोमिटर सडक निर्माण भइसकेको छ भने केन्द्रीय बसपार्क मर्मत अन्तिम चरणमा पुगेको छ ।

यस्तै देवघाटमा १० करोड रुपैयाँ लागतमा निर्माण शुरू गरिएको शवदाहाको काम २५ प्रतिशत सम्पन्न भएको छ । महानगरमा बनाउन शुरू गरिएको अत्याधुनिक सिटीहलको आधा काम सकिएको छ ।  यसका लागि ८८ करोड रुपैयाँ विनियोजन गरिएको छ । 

सघन शहरी तथा भवन निर्माण आयोजनाले ४१ करोड रुपैयाँ लागतमा १८ किलोमिटर सडक, देवघाटमा बसपार्क र आरतीस्थल निर्माण थालिएको छ । सोही आयोजनाअन्तर्गत वडा नं ७ मा साइकल लेन तथा फुटपाथको काम ८० प्रतिशत सम्पन्न भएको छ । सोही क्षेत्रमा ६ करोड रुपैयाँ लागतमा सडक निर्माण थालिएको छ । वडा नं १४ मा २ करोड रुपैयाँमा कालिका पार्क निर्माण भइरहेको छ ।

नारायणी नदी व्यवस्थापन आयोजनाअन्तर्गत नदी तटबन्धनको काम पनि शुरू भएको छ । नारायणगढ बजार नजिकै पुलको उत्तरतर्फ ‘रिभर बिच’ बनाइँदै छ भने दक्षिणतर्फ तटबन्ध गरिँदै छ । आयोजना प्रमुख गणेश मरासिनीका अनुसार २ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरिएको छ । नदीलाई पाँच भागमा विभाजन गरेर काम भइरहेको छ ।

“नारायणी बिच १५ करोड ९२ लाख रुपैयाँमा ठेक्का दिएर काम थालिएको छ भने अर्काे ठूलो खण्ड काभ्रेघाटबाट रामघाटसम्म १ अर्ब १५ करोड रुपैयाँमा तटबन्धको काम थालिएको छ । अन्य तीन खण्डको काम शुरू गर्ने तयारी भइरहेको छ”, प्रमुख मरासिनीले भने ।

डिभिजन सडक कार्यालयअन्तर्गत नारायणढको पुल्चोकबाट गोन्द्राङसम्म छ लेन सडक निर्माणको ६० प्रतिशत काम पूरा भएको छ । १ अर्ब २३ करोड रुपैयाँ लागतमा सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेश पौडेलले जानकारी दिए । यस्तै आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्म वाइपास सडकखण्ड निर्माण, ठूला सडकमा स्मार्ट बत्ती जडान तथा भूमिगत विद्युतीकरणको काम भइरहेको प्रमुख पौडेलले बताए ।

त्यस्तै हाकिमचोकदेखि जगतपुरसम्म दुई खण्डमा १३ किलोमिटर हुलाकी सडक विस्तार भइरहेको छ । सङ्घीय सरकारको खानेपानी मन्त्रालयअन्तर्गतका ५ अर्ब हाराहारीका आयोजना केही सम्पन्न भएका छन् भने केही निर्माणका चरणमा छन् । महानगर, एशियाली विकास बैंकको सहलगानीमा खानेपानीको काम हुनाका साथै शारदानगर, दिव्यनगर, जखडीमाईलगायत आयोजनाका काम भइरहेका छन् । 

महानगरस्तरीय आयोजनाअन्तर्गत यस आर्थिक वर्षमा मात्रै १०० किलोमिटर सडक कालोपत्र भएको महानगरका इञ्जिनियर साकार लामाले जानकारी दिए । उनका अनुसार अहिले सडकमा ग्राभेल, मर्मत तथा  कालोपत्र गर्ने काम भइरहेका छन् । महानगरीय चक्रपथको ७८ किलोमिटरमध्ये डिभिजन सडक कार्यालयले १६ किलोमिटर, सघन शहरी तथा भवन निर्माण आयोजनाले ११ किलोमिटर, प्रदेश पूर्वाधारले १० किलोमिटर र महानगरले सात किलोमिटर निर्माण गरिसकेका छन् । बाँकी काम डिभिजन सडक कार्यालयले गर्ने गरी प्रक्रिया अघि बढेको छ ।

महानगरको प्रशासनिक भवन निर्माण थालिएको छ । ५३ करोड रुपैयाँमा भवन निर्माणको काम शुरू गरिएको हो । नगरप्रमुख रेनु दाहालले महानगर, बागमती प्रदेश र सङ्घीय सरकारका योजनाहरूको काम भइरहेको जानकारी दिइन् । उनले भनिन्, “अघिल्लो कार्यकालमा सम्झौता भएका आयोजनाले गति लिएको छ । नयाँ काम पनि शुरू भएका छन् ।”

पालिका निर्माणको महाअभियानमा रहेकाले तत्कालका लागि नगरवासीले केही कठिनाइ भोग्नु परे पनि काम सम्पन्न भएपछि नमूना शहर बन्ने नगरप्रमुख दाहालले बताउनुभयो । उहाँले महानगरलाई दक्षिण एशियाकै नमूना शहर बनाउने योजनाअनुरुप विकास, निर्माणका काम तीव्रगतिमा भइरहेको बताउनुभयो । प्रमुख दाहालले भनिन्, “भरतपुर महानगर आगामी पाँच वर्षभित्र एशियाली मापदण्डअनुसारको भौतिक पूर्वाधारले भरिपूर्ण नमूना शहर बन्छ भन्ने मेरो दृढ विश्वास छ ।” 

भरतपुर विमानस्थल विस्तार र क्रिकेट रङ्गशालाको रोकिएको काम तत्काल थाल्नका लागि आफूले केन्द्रीयस्तरमा सार्थक पहल गरिरहेको उनको भनाइ छ । नारायणी नदीमा सिग्नेचर पुलको ठेक्का भइसकेको उनले जानकारी दिइन् । २ अर्ब रुपैयाँको लागतमा बन्ने पुलको प्राविधिक मूल्याङ्कन सम्पन्न भएर वित्तीय मूल्याङ्कन भइरहेको छ ।

महानगरका उपप्रमुख चित्रसेन अधिकारीले देशका स्थानीय तहमध्ये सबैभन्दा धेरै विकासका काम भरतपुरमा भइरहेको दाबी गरे । “तत्कालका लागि महानगरवासीलाई समस्या देखिए पनि एक वर्षपछि सबैले विकासको अनुभूति गर्न सक्ने गरी काम भइरहेको छ”, उनले भने । महानगरलाई नमूना शहर बनाउने उद्देश्यले विकासका कामले तीव्रता पाएको उनको भनाइ छ।
–नारायण अधिकारी/रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)