काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति मागेको छ ।
कम्पनीले १ बराबर १ को अनुपातमा रू. १० अर्ब ५९ करोड बराबरको हकप्रद शेयर निष्कासनका लागि फागुन १८ गते बोर्डसँग अनुमति मागेको हो । यसअघि फागुन १६ गते विद्युत् नियमन आयोगले पनि कम्पनीलाई शत प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति दिइसकेको छ ।
भदौ ३ गते शुक्रवार सम्पन्न कम्पनीको १४औं वार्षिक साधारण सभाले समेत शत प्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरिसकेको अवस्थामा निष्कासन प्रक्रिया अघि बढाइएको हो । बोर्डले अनुमति दिएपछि कम्पनीको हकप्रद शेयर निष्कासनमा आउनेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शत प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात् कम्पनीको चुक्तापूँजी रू. २१ अर्ब १८ करोड पुग्नेछ ।
जलविद्युत् कम्पनीहरूलाई कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न सक्ने व्यवस्था विद्युत् नियमन आयोगले गरे पनि यस कम्पनीले भने हकप्रद शेयर विक्रीबाट प्राप्त रकम कम्पनीका सहायक जलविद्युत् आयोजनाहरू रोल्वालिङ खोला जलविद्युत् र तामाकोशी-५ जलविद्युत् आयोजना निर्माणमा लगानी गर्ने जानकारी दिएको छ ।
यो कम्पनी अझै नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनी रू. ८२ करोड ४८ लाखभन्दा बढी खुद नोक्सानीमा छ । गत वर्ष यस अवधिसम्म रू. ३३ करोड ५ लाखभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीको वित्तीय खर्च बढ्दा यस वर्ष खुद नोक्सानी बढेको हो ।
गत वर्ष रू. २ अर्ब २० करोडभन्दा बढी रहेको वित्तीय खर्च यस वर्ष रू. ३ अर्ब ६४ करोडभन्दा बढी भएको छ । गत वर्षभन्दा यस वर्ष कम्पनीले विद्युत् विक्रीबाट ३६ दशमलव ७१ प्रतिशत बढी रू. ४ अर्ब ९८ करोडभन्दा बढी आम्दानी गरेको छ ।