काठमाडौं । नागरिक लगानी कोषले ३३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चारओटा संस्थालाई ७ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ । ती संस्थालाई बिहीवार कोषका कार्यकारी निर्देशक रमण नेपालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । कोषले सशस्त्र प्रहरी बललाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।
त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ अशक्त, अपांगता भएका मस्कुलर डिस्ट्रोफीका बिरामीको पुनःस्थापनका लागि मस्कुलर डिस्ट्रोफी फाउण्डेशन–नेपाल, शंखरापुर काठमाडौंलाई २ लाख रुपैयाँ प्रदान गरिएको छ । साथै, अपांगता भएका बालबालिकालाई खेलकुदको माध्यमबाट उत्साहित गर्न राप्ती बहिरा संघ दाङलाई २ लाख रुपैयाँ र कमजोर आर्थिक अवस्था भएका बालबालिकालाई अध्यापन गराइरहेको पदमपुर आधारभूत विद्यालय ढेढौली, चितवनलाई २ लाख रुपैयाँ सहयोग गरिएको छ ।