ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

किराना व्यवसाय पनि सुस्तायो

२०७९ फागुन, २६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । पछिल्लो समय मुलुकमा बढेको आर्थिक असहजताले दैनिक जीविकाका लागि आवश्यक वस्तु विक्रीवितरण गर्ने किराना व्यवसाय पनि सुस्त बनेको छ । अहिले उपभोक्ताले नभई नहुने बाहेकका सामान किन्न छाडेको व्यवसायीको अनुभव छ । आधारभूत आवश्यकताका वस्तु मात्रै विक्री हुँदा व्यवसाय पहिलेको तुलनामा निकै खस्केको उनीहरूको भनाइ छ ।

कोभिड–१९ महामारीपछि धेरैको आम्दानी घटेर आर्थिक समस्या भइरहेका बेला शुरू भएको रूस–युक्रेन तनावले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा ढुवानी खर्च वृद्धि भई उपभोग्य वस्तुको मूल्य आकाशिएपछि उपभोक्तालाई दोहोरो मार परेको थियो । यो क्रम अझै पनि निरन्तर बढिरहेको छ । आम उपभोक्ताको क्रयशक्ति घट्दा प्रत्यक्ष असर व्यवसायमा परेको देखिन्छ ।

किराना व्यवसायी वीरबहादुर कार्की उत्साहपूर्ण रूपमा व्यवसाय नचलेको बताउँछन् । ‘व्यवसाय खासै केही छैन । उपभोक्ताको कमाइ नै घटेको छ, पैसाको अभाव भएको स्थिति छ । अनि खर्च कहाँबाट गरोस् र हाम्रो व्यवसाय चलोस् ?’ उनले भने ।

अहिले सामानको मूल्य चर्को रूपमा बढेको व्यवसायी स्वीकार्छन् । उनीहरूले नेपालमै उत्पादित र आयातित दुवै खाले सामानको भाउ बढेको बताए । व्यवसायीले दैनिक उपभोग्य बिस्कुट, स्याम्पु, काजु, जीरा, टिमुर, अलैंचीलगायत थुप्रै सामानमा चर्को मूल्यवृद्धि भएको बताए । ‘हामीले नै महँगोमा किनिरहेका हुन्छौं, त्यसमा केही नाफा लिएर विक्री गर्ने हो,’ खुद्रा व्यवसायी आर्यन साहले आर्थिक अभियानसँग भने । खाद्यान्न व्यवसायीले भने पछिल्लो समय मूल्यवृद्धि नभए पनि विक्री घटेको बताए । ‘भाउ बढेको छैन । चामल, तेललगायत वस्तुमा त अघिल्ला महीनाको तुलनामा मूल्य घटेको छ । तैपनि व्यवसाय घटिरहेको छ,’ खाद्यान्न व्यवसायी नवलकिशोर गोयलले भने ।

उनका अनुसार उपभोक्ताले ‘आम्दानी हुँदैन, पैसा छैन’ भन्ने गर्छन् । व्यवसायीले उधारोमा बेचेको सामानको पैसा उठाउनै नसकेको बताइरहेका छन् । किराना व्यवसायीको प्रतिनिधिमूलक संस्था नेपाल खाद्य किराना तथा थोक व्यवसायी संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठ अहिले किराना व्यवसाय सकसमा रहेको बताउँछन् । ‘विक्री घट्नु त छँदै छ, त्योभन्दा बढी समस्या बजारबाट पैसा नउठ्दा भइरहेको छ,’ उनले भने ।

अध्यक्ष श्रेष्ठका अनुसार ‘खुद्रा व्यवसायीलाई पैसाको कुरा गर्‍यो भने सहकारीले पैसा दिइरहेको छैन कसरी तपाईंहरूको उधारो तिर्ने’ भन्ने जवाफ आउँछ । उनले सहकारीमा रहेको पैसा पाउने वातावरण मिलाइदिन सरकारलाई आग्रह गरे । सहकारीहरूले तरलता अभावको कारण देखाउँदै जम्मा गरेको पैसा पनि नदिएको खुद्रा व्यवसायीको गुनासो छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)