काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल अहिले करीब १० अर्बभन्दा बढी डलरको सञ्चितिमा रहेको भन्दै करीब १० महीनाको आयातलाई धान्नसक्ने क्षमतामा रहेको बताएका छन् । उनले अर्थतन्त्र अहिले सहज स्थितिमा रहेको भन्दै सबैकुरामा नकारात्मक रुपले नहेर्न पनि आग्रह गरे ।
शुक्रवारदेखि काठमाडौंमा शुरु भएको दोस्रो अर्थशास्त्री सम्मेलनमा गभर्नर अधिकारीले २०४६ साल पछाडी फर्किन खोजेको हो ? भन्दै प्रश्न पनि गरे ।विसं २०४६ देखि बजारले नै ब्याजदर तोक्ने गरी खुलाबजार अर्थतन्त्र अँगालेको स्मरण गराउँदै अहिले फेरि राष्ट्र बैंकले नियन्त्रण गर्नुपर्ने माग उठेको भन्दै यस्तो प्रश्न गरेका हुन् ।
उनले आवश्यक स्थानमा राष्ट्र बैंकले नियमन र कडाई गरिरहेको पनि बताए । उनले अहिले लङ टर्म इन्भेष्टमेण्टका बारेमा सोचिरहेकाले ऋणलाई जथाभावी प्रयोग गर्दा समस्यामा पर्नसक्ने बताए । उनले आवाजबिहीनहरुको र साना लगानीकर्ताहरुको लागि २ करोड रुपैयाँभन्दा कम लगानी गर्नेहरुको लागि बेस रेटमा दुई प्रतिशतभन्दा बेसी चार्ज गर्न नपाउने व्यवस्था गरेको पनि बताए ।
गभर्नर अधिकारीले पछिल्लो समय अर्थतन्त्रमा सुधार हुँदै गइरहेको बताए । गभर्नर अधिकारीले अर्थतन्त्रका संरचनागत विषयमा धेरै सुधार गर्न जरुरी रहेको बताए । उनले नेपाल समान देशको तुलनमा नेपालको अर्थतन्त्र सुधार भइरहेको उल्लेख गरे ।
उनले पुस मसान्तको डेटा अनुसार नै झन्डै १ खर्ब रुपैयाँको शोधनान्तर बचत रहेको भन्दै गत सालको पुस मसान्तमा २४१ अर्ब रुपैयाँ घाटा रहेको स्पष्ट पारे । उनले अर्थतन्त्रका वाह्य क्षेत्रको तथ्यांक सुधार भएर गएको पनि बताए ।