काठमाडौं । गत साता तीन कारोबार दिनमा नेप्से परिसूचक ३३ दशमलव ६८ अंक बढेको छ ।
अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ९६९ दशमलव शून्य २ विन्दुमा रहेको नेप्से परिसूचक गत साताको अन्तिम कारोबार दिन भने २ हजार २ दशमलव ७० विन्दुमा बन्द भएको छ । तीन कारोबार दिनमा पहिलो दिन ३० दशमलव ७७ अंक घटेको नेप्से परिसूचक दोस्रो दिन १४ दशमलव ४१ अंक र तेस्रो दिन ५० दशमलव शून्य ४ अंक बढेको हो । चैत महीनामा बैंकहरूले निक्षेप र कर्जाको ब्याजदर घटाउने निर्णय गरेसँगै गत साताको अन्तिम कारोबार दिन बजारमा उच्च वृद्धि देखिएको हो । नेपाल बैंकर संघले आगामी चैत १ गतेदेखि लागू हुने गरी निक्षेपमा शून्य दशमलव ४ प्रतिशत र कर्जामा १ प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको हो । लामो समयदेखि बजारमा उतारचढाब देखिदै आएको छ । बैंकले कर्जा र निक्षेपको ब्याजदर घटाउँदा बजारमा सकारात्मक प्रभाव पर्ने लगानीकर्ताको मनोविज्ञानका कारण गत साताको अन्तिम दिनको कारोबार सकारात्मक बनेको ब्रोकरहरू बताउँछन् ।
बजार बढेसँगै कुल बजार पूँजीकरणमा समेत वृद्धि भएको छ । अघिल्लो साताको अन्तिम कारोबार दिनको तुलनामा गत साता कुल बजार पूँजीकरण रू. ५६ अर्ब ३९ करोड २८ लाखले बढेको हो । अघिल्लो साताको अन्तिम कारोबार दिन रू. २८ खर्ब ४४ अर्ब ९२ करोड ४४ लाख रहेको कुल बजार पूँजीकरण रू. २९ खर्ब १ अर्ब ३१ करोड ७२ लाख कायम भएको हो । गत साता समग्र कारोबार मापक नेप्से परिसूचकसँगै ठूला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स ५ दशमलव ९४ अंकले बढेको छ । अघिल्लो साता ३७३ दशमलव ५६ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स गत साता ३७९ दशमलव ५० विन्दुमा पुगेको छ । अघिल्लो साता पाँच कारोबार दिनमा रू. ८ अर्ब ४३ करोड १३ लाखभन्दा बढीको २ करोड २९ लाख ६९ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता तीन कारोबार दिनमा रू. ४ अर्ब १६ करोड २३ लाखभन्दा बढीको १ करोड २४ लाख ५७ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ ।
अघिल्लो साताको तुलनामा कम भएर पनि कारोबार रकम कम भएको देखिन्छ । औषतमा अघिल्लो साता रू. १ अर्ब ६८ करोड ६२ लाखभन्दा बढीको ४५ लाख ९३ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएकोमा गत साता रू. १ अर्ब ३८ करोड ७४ लाखभन्दा बढीको ४१ लाख ५२ हजारभन्दा बढी कित्ता धितोपत्र खरीदविक्री भएको छ । अघिल्लो साताभन्दा गत साता औषतमा कारोबार रकम रू. २९ करोड ८८ लाखभन्दा कम भएको हो । गत साता निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाए गत साता बढेको बजारबाट निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।
समूहगत परिसूचकमा देखिएको वृद्धिका आधारमा निर्जीवन बीमा समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिएको हो । गत साताको कारोबारमा निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव १४ प्रतिशत बढेको हो । निर्जीवन बीमा समूहसँगै गत साता जलविद्युत समूहको ३ दशमलव १० प्रतिशत, वित्तको २ दशमलव ८० प्रतिशत, विकास बैंकको २ दशमलव ७२ प्रतिशत, लगानीको २ दशमलव ६५ प्रतिशत, व्यापारिकको २ दशमलव ४५ प्रतिशत, जीवन बीमाको १ दशमलव ८७ प्रतिशत, म्युचुअल फण्डको १ दशमलव ४३ प्रतिशत, बैंकिङको १ दशमलव ४० प्रतिशतले घटेको छ ।
त्यस्तै लघुवित्तको १ दशमलव शून्य ५ प्रतिशत, होटल तथा पर्यटनको शून्य दशमलव ९८ प्रतिशत, अन्यको शून्य दशमलव ९४ प्रतिशत परिसूचक बढेको छ । गत साता उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने २ दशमलव ६० प्रतिशत घटेको छ ।