ललितपुर । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको बाडेगाउँस्थित भट्टराई आश्रमको आज अवलोकन एवं निरीक्षण गर्नुभएको छ ।
भट्टराई आश्रम पुग्नुभएका उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको शालिकमा माल्यार्पण गर्नुभयो ।
सो अवसरमा नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रमकी सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, पूर्वराजदूत एवं नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय, नेपाली कांग्रेस बागमती प्रदेशका सहमहामन्त्री ऋषिराम घिमिरे, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुँयाललगायतले स्वागत गरेका थिए ।
नवनिर्वाचित राष्ट्रपति पौडेललाई आश्रम सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराएकी थिइन् । -रासस