दमौली । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट(मेवा) क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ‘डाइभर्सन टनेल’ (सुरुङ) को ‘ब्रेक थ्रु’ भएको छ । आयोजनाले ६२६ दशमलव ९२ मिटर लम्बाइको डाइभर्सन टनेलको निर्माण सम्पन्न गरेको हो । उक्त टनेलबाट नदीको पानी निकास गर्न सकिने आयोजनाले बताएको छ ।
आयोजनाको बाँधस्थल निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने हुँदा उक्त टनेल खनिएको आयोजना प्रमुख राजभाइ शिल्पकारले जानकारी दिए । उनका अनुसार नदीको सतहमा टनेल निर्माण गरिएको छ ।
आयोजनाले गत माघमा प्रवेश सुरुङको ब्रेक थ्रु गरेको थियो । सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र सात मिटर व्यास भएको प्रवेश सुरुङको ब्रेक थ्रु भएको थियो । व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जाने उक्त सुरुङलाई आयोजनाको निर्माण सम्पन्न भएपछि पनि स्थायीरूपमा प्रयोग गरिने छ । आयोजनाको निर्माण सम्पन्न भएपछि यही सुरुङ हुँदै बाँधतर्फ जान सकिने छ ।
आयोजनाको पहिलो प्याकेजअन्तर्गत १४० मिटर अग्लो बाँधलगायतका संरचना सोङदा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक डाइभर्सन सुरुङ, बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नतिलगायतका काम भइरहेका छन् ।
५३९ दशमलव ८ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ को ब्रेक थ्रु भइसकेको छ । आयोजनाको सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकालिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो चीनले गरिरहेको छ ।
आयोजनाको तेस्रो प्याकेजअन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणकार्य केइसी भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ साल असारभित्र सक्ने लक्ष्य राखिएको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडिबीले १५ करोड, जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) ले १८ करोड ४० लाख, यूरोपियन लगानी बैंकले ८ करोड ५० लाख डलर र नेपाल सरकार÷नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
तीन आटा प्याकेजमा काम भइरहेको आयोजनाको हालसम्म ३४ प्रतिशत भौतिक प्रगति भएको छ । आयोजनाले हालसम्म १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । आयोजनाको प्याकेज–१ अन्तर्गत हेडवक्र्स निर्माणकार्यका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार ८७८रुपैया मा खरीद सम्झौता भएको थियो ।
यो प्याकेजअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ–१ र २ को निर्माणकार्य जारी रहेको आयोजनाले बताएको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको आयोजनाले बताएको छ ।
बाँधको माथिल्लो भागको स्लोप खन्ने कामअन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरबाट ४८० मिटरसम्म खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माणकार्य शुरु गरिएकामा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह ४७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले बताएको छ ।
प्याकेज–१ अन्तर्गतको कार्य विसं २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएका हालसम्म २ अर्ब २३ करोड ६८ लाख ४३ हजार रुपैया खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२ दशमलव ६८ र ११ दशमलव ६७ प्रतिशत रहेको आयोजनाले बताएको छ ।
आयोजनाको प्याकेज–२ को निर्माणकार्यका लागि सिनो हाइड्रो कर्पोरेसनसँग विसं २०७५ असोज १५ गते युएस डलर १ अर्ब १४ करोड १ लाख ८८ हजार ९५८ र नेपाली ३ अर्ब ८३ करोड १३ लाख ६० हजार ३६१ रुपैयाँमा खरीद सम्झौता भएको थियो । खरीद सम्झौताबमोजिम निर्माणकार्य शुरु गर्न कार्यादेश जारी गरेपश्चात् सिनोले विसं २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माणकार्य जारी राखेको छ ।
यो प्याकेज अन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत्गृह खन्ने काम विसं २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले बताएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको श्रेष्ठले बताए।
आयोजनाको एक हजार चार सय ५६।९ मिटर लामो मुख्य सुरुङ विसं २०७८ कात्तिकबाट खन्न शुरु गरिएकामा मङ्सिर मसान्तसम्म ६० मिटर खन्ने काम सकिएको छ । आयोजनाको २१० दशमलव ९ मिटर टेलरेस सुरुङ विसं २०७७ फागुन २९ गतेदेखि खन्न शुरु गरिएकामा उक्त काम सम्पन्न भइसकेको छ ।
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कार्यअन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम ६४ मिटर रहेकामा सम्पूर्ण पेनस्टक खन्ने कार्य सकिएको छ । प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ ओटा टावरको जग हालिसकिएको आयोजनाले जनाएको छ । २६ ओटा टावर जडानकार्य सम्पन्न भएको र आठ स्थानमा टावर प्रोटेक्सन कार्य गरिएको छ । ३४ दशमलव ७ किमी प्रसारण लाइनमा ९४ ओटा टावर राखिनेछ । प्रसारण लाइन निर्माणको काम सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकामा कोभिड–१९ को महामारी र वन क्षेत्रको रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ । रासस