काठमाडौं । घट्दो ब्याजदर र अर्थतन्त्रमा सुधार भए पनि शेयर बजारमा भने पुनः २ हजार विन्दुबाट तल ओर्लिएको छ ।
बैंकहरूले चैत महीनाका लागि ब्याजदर घटाउने निर्णय गरेका छन् भने राष्ट्र बैंकले माघसम्मको अर्थतन्त्रको अवस्था पनि सार्वजनिक गरेको छ । समग्रमा अर्थतन्त्रका सूचकहरू सकारात्मक र सुधारोन्मुख देखिए पनि लगानीकर्ता भने निरुत्साहित नै देखिन्छन् । ब्याजदर घट्ने भएसँगै गत बुधवार बिहीवार गरी ६४ अंक बढेको बजार आइतवार भने २६ अंक घटेर बन्द भएको छ ।
साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक २६ दशमलव ८० अंक घटेर १ हजार ९७५ दशमलव ८९ विन्दुमा झरेको हो । यस दिन कारोबारमा आएका २६० धितोपत्रको ४७ लाख ७२ हजार १४० कित्ता शेयर ३६ हजार २८० पटकमा रू. १ अर्ब ६६ करोड बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी शुभम पावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३५२ दशमलव ६० पुगेको छ । त्यस्तै दोस्रोमा ‘नबिल डिबेञ्चर २०८५’ नामक ऋणपत्रको मूल्य ४ दशमलव शून्य ४ प्रतिशत वृद्धि भई रू. ७८० दशमलव ३० पुगेको छ ।
आइतवार ‘१२ % गुडविल फाइनान्स लिमिटेड डिबेञ्चर २०८३’ नामक ऋणपत्रको मूल्य सबैभन्दा बढी ६ दशमलव ५५ प्रतिशत घटेको छ । ऋणपत्रको मूल्य रू. १ हजार २० दशमलव २० कायम भएको हो । त्यस्तै दोस्रोमा हिमालयन बैंकको शेयर मूल्य ६ दशमलव ३७ प्रतिशत घटेर रू. २५० मा झरेको छ ।
यस दिन शिवम् सिमेण्टको सर्वाधिक शेयर खरीदविक्री रू. ८ करोड २१ लाख बराबर भएको हो । कम्पनीको शेयर मूल्य रू. ४४९ दशमलव ३० कायम भएको छ । त्यस्तै सर्वाधिक शेयर खरीदविक्री हुने दोस्रोमा हिमालयन डिष्टिलरीको रू. ५ करोड ७५ लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचक समग्र घटेसँगै नेप्से परिसूचक घटेको हो । सबैभन्दा बढी बैंकिङ समूहको परिसूचक १ दशमलव ७१ प्रतिशत घटेको छ । त्यस्तै वित्त समूहको परिसूचक १ दशमलव ६९ प्रतिशत, लगानी समूहको १ दशमलव ५९ प्रतिशत र हाइड्रोपावर समूहको १ दशमलव ४७ प्रतिशत घटेको छ ।