काठमाडौं । सिलिकन भ्याली बैंकका प्रमुख कार्यकारी अधिकारी ग्रेग बेकरले केही दिन अघि मात्रै लाखौं डलर मूल्यका बैंकको शेयर बेचेको खुलेको छ ।
बेकरले एक वर्षभन्दा धेरै समयपछि फेब्रअुरी २७ मा बैंकको मातृ कम्पनी एसभीबी फाइनान्सियलमा रहेको आफ्नो १२ हजार ४५१ कित्ता शेयर बेचेका थिए ।
उनले बेचेको शेयरको कुल मूल्य ३६ लाख डलर थियो । आफ्नो शेयर विक्रीको योजनालाई अनुमति दिन उनले जनवरी २६ मा आवेदन दिएका थिए । बैंकले घाटा भएको भन्दै शेयरधनीहरुको नाममा साढे २ अर्ब डलर जति रकम उठाउन पत्र पठाएको एक हप्ताभित्रै बैंक टाट पल्टिएको हो । पैसा झिक्न निक्षेपकर्ताका लामो लाइन लागेपछि शुक्रवार बैंक धराशयी भएको घोषणा गरिएको थियो ।
बैंकको पैसा उठाउने योजनाकै कारण बेकरले शेयर बेचेका हुन् कि भन्ने स्पष्ट भइसकेको छैन । बेकरले आफ्नो नियन्त्रणमा रहेको रिभोकेबल ट्रष्टमार्फत शेयर बेचेका थिए । इन्साइडर ट्रेडिङ रोक्न यस्तो खालको ट्रष्टबाट शेयर बेच्ने गरिन्छ । कार्यकारीहरुले शेयर बेच्नका लागि कम्तिमा पनि ९० दिनको कूलिङ अवधि राख्नु पर्ने प्रावधानलाई डिसेम्बरमा अमेरिकी शेयर नियामक (सेक)ले अन्तिम रुप दिएको थियो । यो नियम अप्रिल १ देखि लागू हुँदैछ । अर्थात् बेच्न मन लाग्ने बित्तिकै शेयर बेच्न पाइन्न । त्यसका लागि कम्तिमा ३ महीना कुर्नु पर्नेछ । एजेन्सीको सहयोगमा