काठमाडौं । आर्थिक क्रियाकलाप बढाउने लक्ष्यका साथ ललितपुरको गोदावरी नगरपालिकामा प्रथम गोदावरी महोत्सव आयोजना हुँदै छ । गोदावरी नगरपालिकाको संरक्षकत्व तथा गोदावरी उद्योग वाणिज्य संघको आयोजना र ईभेन्ट सोलुसन प्रालिको व्यवस्थापनमा आगामी २०७९ चैत २९ गते देखि २०८० वैशाख ३ गतेसम्म ‘गोदावरी महोत्सव २०२३’ आयोजना हुन लागेको हो ।
नेपाली नयाँ वर्ष २०८० र गोदावरी नगरपालिका स्थापना दिवसको अवसरमा ‘आर्थिक समृद्धिका लागि संस्कृति’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवले गोदावरी नगरपालिकामा रहेका स्थानीय वस्तु, कला, संस्कृति, नवप्रवर्तक, विद्यमान एवं नव उद्यमीहरूलाई बजारीकरणका साथै पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ ।
महोत्सवको मुख्य आकषर्णको रूपमा संस्थागत खरीदकर्ता र उत्पादकबीच भेटघाट, लगानीकर्ता र उद्यमीबीच छलफल, स्थानीय उत्सव, खेल उत्सव, साहित्य उत्सव, गोदावरी कन्क्लेभ रहनेछन् ।
बायर सेलर मिटमा देशका मुख्य खरीदकर्ताहरू तथा महोत्सवस्थलमा रहेका स्थानीय उत्पादनकर्तासँग भेटघाट गरी स्थानीय उत्पादनको खरीद र दिगो व्यापारका लागि संयुक्त समझदारीपत्र (एमओयु) समेत गरिने वातावरण निर्माण गरिनेछ ।
महोत्सवमा बैंकर बरोअर मिटमार्फत स्थानीय क्षेत्रमा रहेका उद्योगी र बैंकहरूलाई एकै स्थानमा राखी लगानीको वातावरणलाई अझ सहज बनाउन भूमिका खेलिनेछ ।
महोत्सवमा थेचो उत्सव, चम्पापुर उत्सव, ठैव उत्सव, कोड्कु उत्सव, साहित्य उत्सव, खेल उत्सव आदि नामबाट स्थानीय उत्सव आयोजना गरिनेछ । महोत्सवमार्फत स्थानीय क्षेत्रका आदिवासीह दनुवार, पहरी, तामाङ आदिको सांस्कृतिक पहिचानलाई उजागर गरिनेछ ।
महोत्सवको अर्को आकर्षणको रूपमा गोदावरी कन्क्लेभ हुनेछ । त्यसमा देशका प्रतिष्ठित आर्थिक व्यक्तित्वसँगको छलफल र प्रश्नोत्तर कार्यक्रम राखिनेछ ।
महोत्सव अवधिभर पर्यटकहरूको मनोरञ्जनका लागि परम्परागत सांस्कृतिक कार्यक्रम, सांगीतिक कार्यक्रम, साहासिक गतिविधि तथा व्यापारिक कार्यक्रमहरू आयोजना गरिनेछ । महोत्सवमार्फत स्थानीय कला, संस्कृतिसहित पर्यटन प्रवर्द्धन, महिला उद्यमशीलता प्रवर्द्र्धन, स्थानीय कलाकारको आकर्षक कार्यक्रम, घरेलु तथा लघु उद्यमको प्रवर्द्धनका कार्यक्रम गरिनेछन् ।
महोत्सवमा २०० भन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्टलहरूका साथै स्थानीय उत्पादन, हस्तकलाका सामग्री, संस्कृति झल्काउने सामग्रीहरू, गार्मेन्ट सामग्री, स्थानीय खाद्य उत्पादन, फूलसम्बन्धी उत्पादन, कृषि उत्पादन, वित्तीय संस्थाहरू जस्तै बैंक, बीमा, शैक्षिक संस्थाहरू, परामर्श संस्था, अनलाइन व्यापार तथा सेवालगायतका विभिन्न विधाका स्टलहरु राखिनेछ । पाँचदिने महोत्सवमा एक लाखभन्दा बढी अवलोकनकर्ताहरू प्रत्यक्ष सहभागी हुने अनुमान गरिएको छ ।
काठमाडौं उपत्यका नजिकैको गोदावरी क्षेत्रमा लिच्छविकालीन तथा मल्लकालीन प्राचीन क्षेत्रहरू प्याङगाउँ, लेले, चापागाउँ, मञ्जुश्रीभन्दा पुरानो बाडेगाउँको भगवान पाउ, समुद्री सतहबाट २ हजार ७६२ मिटर उचाइमा रहेको फुलचोकी डाँडा आदि आकर्षणको रूपमा रहेका छन् ।