काठमाडौं । बैंकहरूको ब्याजदर घटाउने निणर्य र राष्ट्र बैंकले सार्वजनिक गरेको माघसम्मको अर्थतन्त्रको अवस्था नकारात्मक नरहेको अवस्थामा पनि नेप्से परिसूचक घट्दो छ ।
अर्थतन्त्रका समग्र सूचकहरू सकारात्मक र सुधारोन्मुख देखिए पनि लगानीकर्ता शेयर बजारमा उत्साहित भएको देखिँदैन । लगातार दुई दिनमा नेप्से ५१ दशमलव ४८ अंक घटेको छ ।
साताको दोस्रो कारोबार दिन सोमवार पनि नेप्से परिसूचक २४ दशमलव ६८ अंक घटेर १ हजार ९५१ दशमलव २१ विन्दुमा झरेको छ । यस दिन बजारमा २५६ धितोपत्रको ३३ लाख ६९ हजार १३६ कित्ता २६ हजार ८५० पटकमा रू. १ अर्ब १६ करोड बराबर कारोबार भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये सबैभन्दा बढी शुभम पावर कम्पनीको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशत वृद्धि भई प्रतिकित्ता रू. ३८७ दशमलव ८० पुगेको छ । त्यस्तै दोस्रोमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ४ दशमलव शून्य ३ प्रतिशत वृद्धि भई रू. १ हजार २०५ दशमलव ४० पुगेको छ ।
सोमवार खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य सबैभन्दा बढी ७ दशमलव ६२ प्रतिशत घटेर प्रतिकित्ता रू. ९३३ कायम भएको छ । त्यस्तै दोस्रोमा आदर्श लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ५ दशमलव ४१ प्रतिशत घटेर रू. १ हजार ३७२ दशमलव ५० कायम भएको हो ।
सोमवार सर्वाधिक रू. ६ करोड २४ लाख बराबर कारोबार भएको एनआईसी एशिया बैंकको शेयर मूल्य प्रतिकित्ता रू. ७७७ कायम भएको छ । त्यस्तै सर्वाधिक दोस्रोमा शिवम् सिमेण्टको शेयर खरीदविक्री रू. ५ करोड ६८ लाख बराबर भएको छ ।
यस दिन कारोबारमा आएका १३औटै समूहगत परिसूचक घटेका छन् । जीवन बीमा समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव ६६ प्रतिशत घटेको छ । त्यस्तै बैंकिङ समूहको परिसूचक १ दशमलव ५७ प्रतिशत घटेको छ ।