ताप्लेजजुङ । चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजार रुपैयाँले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार रुपैयाँका दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार रुपैयाँ पुगेको छ ।
अलैँची भने प्रतिमन ३५ हजार रुपैयाँका दरले कारोबार भइरहेको छ । यो वर्ष पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो ।
भारत निर्यात हुने चिराइतो झापामा पुर्याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजार रुपैयाँमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । “गत वर्ष ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर ३८ हजारदेखि ४० हजार रुपैयाँमा कारोबार भइरहेको छ”, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने।
गत वर्ष १८ हजार रुपैयाँ हुँदै ३० हजार रुपैयाँसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन ३२ हजारदेखि ३३ हजारसम्ममा लिने गरिएको छ । चिराइतो सङ्कलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए ।
व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् । “कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिने भन्दा १ हजार रुपैयाँसम्म बढी दिन्छन्”, व्यवसायी बरालले भने । केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।
तर चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो सङ्कलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो सङ्कलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्याएको बताए । “गत वर्षको तुलनामा सङ्कलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, सङ्कलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ”, उनले भने ।
ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो सङ्कलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार सङ्कलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्याङ्कले देखाएको छ । उच्च पहाडी भेगमा पाइने विभिन्न जडीबुटीमध्ये चिराइतो पनि मुख्य जडीबुटी हो । समुन्द्री सतहबाट १ हजार दुई सयदेखि ३ हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ ।
भूगोल हेरी मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ । प्रायले जङ्गलमा गएर चिराइतो सङ्कलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जङ्गल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको ३ वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् ।
औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ । रासस