काठमाडौं । टर्कीएमा गएको विनाशकारी भूकम्पका पीडितका लागि एनसीसी टर्कीएले गरिरहेको सामाजिक कार्यमा ऐक्यबद्धता र समर्थन गर्दै गैरआवासीय नेपाली संघले ५ हजार डलर आर्थिक सहयोग गरेको छ । यसअघि संघको आईसीसी बैठकले टर्कीएलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
संघले आइतवार एनआरएनए टर्कीएका अध्यक्ष उज्जलकुमार घिसिङलाई उक्त रकम हस्तान्तरण गरेको हो । यसैबीच ११३औं अन्तरराष्ट्रिय महिला दिवसको अवसरमा आइतवार आयोजित कार्यक्रममा टर्कीएका लागि ४ हजार ११९ डलर आर्थिक सहयोग जुटाइएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको महिला विभागद्वारा आयोजित कार्यक्रममा उक्त रकम एनआरएनए टर्कीएका अध्यक्ष घिसिङलाई उपसभामुख इन्दिरा रानामार्फत हस्तान्तरण गरिएको हो । आर्थिक सहयोग संकलनका लागि एनआरएनए मिडिया समितिकी सहसंयोजक बाबा राजेश्वरी थापाले विशेष पहलकदमी लिएकी थिइन् ।