काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी स्थापना गर्न छुट्टाछुट्टै डेस्क सञ्चालनमा ल्याइएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले गत मंगलवारदेखि प्रत्यक्ष वैदेशिक लगानी भएका कम्पनी दर्ता गर्न छुट्टै डेस्क सञ्चालनमा ल्याएको हो ।
उक्त डेस्कबाट प्रत्यक्ष वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन एवं सार्वजनिक निजी साझेदारी ऐनले तोकेको प्रक्रिया पूरा गरी दर्ता भएका कम्पनीका काममा एकरूपता हुने अपेक्षा गरिएको उक्त कार्यालयले बताएको छ ।
कम्पनी रजिष्ट्रार महेश बरालले नेपालमा लगानीको वातावरण निर्माण तथा सुधारमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षाले छुट्टै डेस्क सञ्चालनमा ल्याइएको बताए । उक्त डेस्कले कम्पनीको प्रस्तावित नामलाई छोटो माध्यमबाट स्वीकृत गर्नेछ भने सम्बन्धित कम्पनीले प्रबन्धपत्र तथा नियमावली तयार पारी पेस गरेपछि कम्पनी दर्ताका लागि सहजीकरण गर्नेछ । डेस्क स्थापनापछि प्रत्यक्ष विदेशी लगानी भएका कम्पनी दर्ता एवं विदेशी कम्पनीको शाखा र सम्पर्क कार्यालय दर्ताका लागि दश दिनभित्र काम सम्पन्न हुने कार्यालयले बताएको छ । रासस