काठमाडौं । उद्योग संगठन मोरङले विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिक कामदारका लागि ‘पीएलसी अटोमेशन’मा तालीम दिएको छ ।
संगठनले इन्सोर परियोजनाको सहकार्यमा २३ जना प्राविधिकलाई २४ दिने तालीम दिएको हो । संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योग व्यवसाय क्षेत्रका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उपलब्ध नभएको अवस्थामा संगठनले सञ्चालन गरेको तालीमले प्राविधिकको शीपलाई थप परिमार्जित र परिष्कृत गर्न सहयोग पुर्याएको बताए ।
कोशी प्रदेश सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख कृष्णप्रसाद पोखरेलले तालीमका सहभागीको आवश्यक शीप परीक्षणमा मन्त्रालयले समन्वय गर्ने बताए । तालीममा अटोमेशन र यसका कम्पोनेन्ट, उपकरण सञ्चालन विधि, समस्या समाधानका उपाय, समुचित व्यवस्थापन पद्धति, प्राविधिक खराबीका कारण उत्पादकत्वमा पर्ने असर, मेसिन सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षा व्यवस्थालगायत विषयमा सैद्धान्तिक र प्रयोगात्मक ज्ञान दिइएको थियोे ।