काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले एघारौं ‘एफक्यान एक्सिलेन्स अवार्ड २०७९’बाट विभिन्न निर्माण व्यवसायी, निर्माण कम्पनी तथा निर्माणकर्मीलाई सम्मान गरेको छ । महासंघले २४औं साधारणसभाको अवसरमा उक्त अवार्ड प्रदान गरेको हो । ‘एफक्यान ग्लोरी अवार्ड’ निर्माण व्यवसायी जीप छिरिङ लामा शेर्पालाई प्रदान गरेको छ । महासंघका पूर्वअध्यक्ष तथा मानार्थ सदस्य शेर्पालाई निर्माण क्षेत्रमा विशिष्ट योगदान पुर्याएको भन्दै उक्त सम्मान प्रदान गरिएको हो ।
त्यस्तै, कालिका कन्स्ट्रक्शनले विदेशमा उत्कृष्ट काम गरेको र स्वदेशमा ‘ए क्लास’को कम्पनीको हैसियतले समयमै उत्कृष्ट काम गरेको गरी दुई विधामा अवार्ड प्राप्त गरेको छ । त्यस्तै बी क्लास, सी क्लास र डी क्लासका विभिन्न विधातर्फ विभिन्न निर्माण कम्पनीले अवार्ड प्राप्त गरेका छन् । महासंघले उत्कृष्ट जिल्ला र उत्कृष्ट निर्माण व्यवसायी र विभिन्न निर्माण कम्पनीमा काम गर्ने इन्जिनीयरलाई अवार्डले सम्मानित गरेको जानकारी दिइएको छ ।