ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चापाकोटका किसान सामूहिक आलुखेतीमा

२०७९ फागुन, ३०  
गण्डकी प्रदेश
Tvs Raider Image Not Found

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाका किसानले सामूहिक रूपमा आलु उत्पादन गरेका छन् । जिल्लाकै समथर र आलु उत्पादनका दृष्टिले उर्वरभूमि मानिने चापाकोटका किसानले समूहमार्फत लगाएको आलु यतिबेला भित्र्याउने बेला भएको छ । चापाकोट नगरपालिकाका–८, ९ र १० का विभिन्न ठाउँमा सामूहिक रूपमा आलुखेती गरिएको हो ।

एक्ला एक्लैभन्दा पनि सामूहिक रूपमा आलुखेती गर्दा काम गर्न पनि सहज हुने भएकाले समूहमार्फत आलुखेती गरिएको चापाकोट–९ को बेल्चौर शीतलटार किसान समूहका संयोजक रामु बस्यालले बताए ।

‘गाउँघरमा कामदार पाउन समस्या हुने भएकाले पनि खेती गर्न कठिनाइ हुन्थ्यो,’ उनले भने, ‘समूहमार्फत गर्दा काम गर्न सहज हुनुका साथै शीप तथा विधिका बारेमा ज्ञान हस्तान्तरण भएको छ ।’ समूहमार्फत पहिलोपटक चार रोपनी क्षेत्रफलमा चार सय ५० केजी आलुको बीउ लगाइएको उनले बताए ।

समूहमा ५२ जना रहे पनि आलुखेतीमा २२ जना किसान प्रत्यक्ष सहभागी भएका हुन् । ‘सिँचाइ पर्याप्त हुन नसक्दा यसपटक अपेक्षा गरिए बमोजिम उत्पादन लिन सकेनौं,’ बस्यालले भने, ‘एक हजार एक सय केजीभन्दा धेरै उत्पादन गरेका छौं, अब त्यसलाई समूहमार्फत विक्री गर्छौं ।’

एक्लाएक्लै काम गर्दाभन्दा समूहमार्फत काम गर्दा धेरै सजिलो भएको महसूस बेल्चौर शीतलटार आमा समूहकी अध्यक्ष ईश्वरी बस्यालको पनि छ । ‘धेरै पहिलेदेखि नै आलु घर–घरमा लगाउँथ्यौं,’ उनले भनिन्, ‘समूहमार्फत गर्दा आधुनिक प्रविधि तथा शीपबारे जान्ने मौका मिल्यो, काम गर्न मान्छेको कमी भएको महसूस भएन ।’

त्यस्तै चापाकोट १० का विभिन्न ११ टोलमा ३५/४० जनाको समूह बनाएर सामूहिक रूपमा आलुखेती गरिएको कार्यपालिका पूर्वसदस्य सूर्य माझीले जानकारी दिए । चापाकोट नगरपालिकाका १० नं वडामा मात्रै महिला दिदीबहिनीको सहभागितामा ११ समूह बनाएर आलुखेती गरिएको थियो ।

‘आलु पकेट क्षेत्र बनाउने गरी यसअघि नै काम गरिएकोमा पुरानो र नयाँ समूह मिलाएर आलुखेती गरेका हौं,’ उनले भने, ‘चापाकोट १० मा मात्रै डेढ सय रोपनीमा करीब ६ टन आलुको बीउ लगाइएको छ ।’ चापाकोट वडा नं ८ मा पनि सामूहिक रूपमा आलुखेती गरिएको वडाध्यक्ष टोपलाल न्यौपानेले बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)