नेपाल राष्ट्र बैंकले आइतवार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी प्रतिवेदनले अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आएको देखाएको छ । झन्डै १० महीनाका लागि वस्तु तथा सेवाको आयात धान्न सक्ने विदेशी विनिमय सञ्चिति पुगेको भन्दै सरकारले यसलाई सफलता मानेको छ । तर, अवस्था भने त्यस्तो देखिँदैन ।
चालू आर्थिक वर्ष (आव) को माघ मसान्तसम्ममा गत आवको यही अवधिका तुलनामा आयात १४ दशमलव ६ प्रतिशतले घटेको छ भने निर्यात १ दशमलव ४ प्रतिशतले घटेको छ । आयातमा कडाइ र विप्रेषण आप्रवाहमा भएको वृद्धिले मात्रै बाह्य क्षेत्रमा केही सुधार आएको हो । अहिले मागमा केही कमी आएका कारण आयात प्रतिबन्ध खुला गरिए पनि आयात बढेको देखिँदैन । निक्षेपको ब्याजदर उच्च रहेकाले धेरैले उपभोग्य वस्तुको खरीदमा कटौती गरेकाले यस्तो भएको देखिन्छ । त्यस्तै घरजग्गा र शेयरबजारको कारोबार घटेकाले पनि उपभोग्य वस्तुको माग घटेको देखिन्छ । ब्याजदरमा कमी आउनासाथ आयात वृद्धिदर उकालो लाग्ने र पुन: बाह्य क्षेत्रमा समस्या आउने सम्भावना रहेको छ ।
विदेशी मुद्राको प्रमुख स्रोत मानिएको वैदेशिक सहयोगको अवस्था पनि राम्रो छैन । विदेशी अनुदान लक्ष्यको ८ दशमलव ६६ प्रतिशत मात्र भित्रिएको देखिन्छ भने वैदेशिक ऋणको साँवाब्याज भुक्तानीमा त्यो भन्दा बढी विदेशी मुद्रा बाहिरिएको देखिन्छ । यसले बाह्य क्षेत्रमा सुधार आएको देखाउँदैन । अहिले बढेको विदेशी विनिमय सञ्चिति सरकारले लिएको नियन्त्रणात्मक पद्धतिको परिणाम हो जुन कुनै पनि बखत स्वाट्टै घट्न सक्छ । नेपालको विदेशी मुद्रा आर्जन गर्ने अर्को माध्यम पर्यटन हो । तर, यो क्षेत्रमा पनि जति विदेशी मुद्रा भित्रिएको छ त्यो भन्दा बढी रकम बाहिरिएको पाइन्छ । नेपालको शिक्षा क्षेत्रमा समसामयिक परिवर्तन नहुँदा विदेशमा अध्ययन गर्न जानेको संख्या निकै बढेको छ, जसका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढिरहेको छ र यसलाई रोक्न कठिन छ । अत: बाह्य क्षेत्रमा देखिएको सुधार क्षणिक हो । अर्थतन्त्रको वास्तविक धरातल नसुधारी यस्तो क्षणिक सुधारलाई सफलता मान्न थालियो भने कुनै पनि बखत अर्थतन्त्रमा गम्भीर समस्या आउन सक्छ ।