गत शनिवार साउदर्न क्यालिफोर्नियामा फस्ट रिपब्लिक बैंक बाहिर दर्जनौं ग्राहकको भीड लाग्यो । अमेरिकाको २० ठूला व्यावसायिक बैंकमध्ये एक सिलिकन भ्याली (एसभी) बैंक ढलेपछि बैंकमा रहेको आफ्नो निक्षेप झिक्न हस्याङफस्याङ गर्दै आउने निक्षेपकर्ताको भीड (बैंक रन) थियो । बैंकको अनुमानित मूल्य र वास्तविक मूल्यबीच समानता एसभी बैंकको जस्तै थियो । एसभी बैंक जस्तै फस्ट रिपब्लिक बैंक धराशयी हुने चिन्ता निक्षेपकर्तामा स्पष्टै झल्किन्थ्यो ।
गएको १ हप्तामा अमेरिका एसभी बैंक, सिल्भरगेट र सिग्नेचर गरी तीन बैंक पतन भए । नियामकले निक्षेपकर्ताको पैसा जोगाइदिन बैंकलाई आफ्नो नियन्त्रणमा राखेको छ । यसको झट्का स्टार्ट अप, भेञ्चर क्यापिटल, क्रिप्टो बजार मात्रै होइन, रक्सी उद्योगसम्म पुगेको छ । शुक्रवार निक्षेपकर्ताको पैसा जोगाइदिन क्यालिफोर्नियाको वित्तीय नियामकले बैंकलाई ‘रिसिभरशिप’ (दामासाही) मा राखिदियो । दुई दिनसम्म बैंकमा पैसा झिक्ने निक्षेपकर्ताको भीडका कारण राम्रै अवस्थामा रहेको बैंक केही घण्टाभित्र गल्र्याम्मै ढल्यो । शुक्रवार शेयर बजारमा फस्ट रिपब्लिकको शेयर एक क्षणमा ५२ प्रतिशतसम्म घट्यो । बैंक रन फस्ट रिपब्लिकमा मात्रै थिएन, सिग्नेचर बैंक र अन्य केही क्षेत्रीय बैंकमा पनि देखियो ।
बासलात बढाउन भनेर साढे २ अर्ब उठाउन एसभी बैंकले शेयरधनीहरूलाई पठाएको पत्र नै उसका लागि पासो बन्यो । बैंकलाई अमेरिकाको संघीय निक्षेप बीमा कर्पोरेशनले आफ्नो नियन्त्रणमा लिइसकेकाले बीमा भएको पैसा निक्षेपकर्ताले पाउने नै छन् । एसभी बैंकको मामिलामा बैंकहरूको निक्षेपको बीमा गरिदिने अनि वित्तीय संस्थाहरूको निरीक्षण गर्ने निकाय एफडीआईसीले निकै छिटो कदम चाल्यो । बीमा नभएको निक्षेपकर्ताले पनि सोमवारै रकम फिर्ता पाउने बताइएको थियो । एफडीआईसीले सामान्यत: बजार बन्द नहुँदासम्म कदम चाल्दैन । तर, एसभी बैंकको मामिलामा मध्याह्नतिर निर्णय गर्यो ।
कोभिडको महामारी, रूसले युक्रेनमाथि गरेको आक्रमण आदिले महँगी आकाशिएर दशकौं यताकै उत्कर्षमा उक्लिएपछि फेडले व्यवसाय र व्यक्तिगत माग दबाउन आक्रामक रूपमा ब्याजदर बढायो । सन् २०२२ यताको युटर्नले आर्थिक मन्दी निम्त्याउने आकलन धेरैको थियो । ब्याजदर ऐतिहासिक न्यून स्तरमा रहँदा बैंकहरूले दीर्घकालीन म्यादका न्यून जोखिमयुक्त ट्रे्जरीहरू किने । तर, एक्कासि ब्याजदर चुलिएपछि ती ट्रेजरीको मूल्य घट्यो अनि बैंकहरूले ठूलो क्षति बेहोरे । उच्च ब्याजदरको चपेटाबीच प्रविधि कम्पनीहरूको शेयर मूल्य घट्यो, पैसा उठाउन उनीहरूलाई गाह्रो भयो । आईपीओमा पनि घाटा भयो अनि लगानीको खडेरी देखियो । यस्तोमा एसभी बैंकका ग्राहकले छिटोछिटो पैसा झिक्न थाले । अनि स्थिर ठानिएको बैंकको पतन भयो ।
सन् २००८ को विश्वव्यापी वित्तीय संकटयता कुनै अमेरिकी बैंक टाट पल्टिएको यो पहिलोपटक थियो । बैंक रन देखिएपछि राम्रै पूँजी भएका बैंक पनि असफल हुुन्छ । यसको असर अन्यत्र पोखिँदा विविधीकरण कम भएका बैंक यसैगरी धराशयी बन्दै जानेछन् ।
निश्चित खालको उद्योगमा ‘एक्सपोजर’कै कारण बैंकमा समस्या देखियो । विविधीकरण उच्च भएका बैंकमा यो समस्या नदेखिन पनि सक्छ । सन् २००८ को विश्वव्यापी वित्तीय संकटयता वित्तीय क्षेत्रमा उल्लेख्य नियामकीय सुधार भएकाले स्थिरता नखल्बलिने आशा छ । यसले निक्षेपकर्तालाई पनि आफ्नो पैसा एफडीआईसीमा निक्षेप बीमा भएको बैंकमा मात्रै राख्नुपर्ने पाठ सिकाएको छ । एसभी बैंकको पतन लेहम्यान ब्रदर्शसँग मिल्दोजुल्दो भए पनि धेरै विश्लेषक यसको असर लेहम्यानको जस्तो हुँदैन भन्छन् ।
फेडले ब्याजदर वृद्धिले आर्थिक मन्दी नै निम्तिने अवस्था नआओस् भनेर बिस्तारै ब्याजदर बढाइरहेको थियो । एसभी बैंकको पतनलाई फेडको नीतिगत समितिले बेवास्ता गर्नसक्ने खालको छैन । ब्याजदर बढाउने छलफलमा बजार अनि बैंकिङ क्षेत्रमा देखिने उथलपुथल बलियो तर्कको रूपमा देखिनेछ । गएको १ वर्षमा फेडले ब्याजदर १ हजार ७०० प्रतिशतले बढाएको छ । ब्याजदर वृद्धिको असर बल्ल देखिन थालेको छ । यस्तोमा ब्याजदर बढाउन थप सतर्कता अपनाउनुपर्ने बाध्यतामा फेड पुगेको छ ।
दशकौंसम्म सस्तो रहेको पैसा एक्कासि महँगो बन्न थालेपछि विश्वको वित्तीय प्रणालीमा खाडल बढेको छ । केहीले यसलाई विश्व बजार धराशयी हुने सँघारमा उभिएको रूपमा अथ्र्याउन थालेका छन् । अहिले शेयरबजार खासगरी प्राविधिक क्षेत्रको शेयरमा डटकम बबल यताकै लामो शेल–अफ छ । क्रिप्टोकरेन्सी उद्योग चौपट छ । अमेरिकी र बेलायती घरजग्गा कोषमा पैसा झिक्नेको ताँती छ भने पतन नजिकै पुगेको पेन्सन कोषलाई बचाउन बैंक अफ इङल्यान्डले हस्तक्षेप नै गर्नुपर्यो । बढ्दो ब्याजदरले सस्तो पैसामा पहुँच त बन्द गरेको छ नै अर्थतन्त्रमा रहेका ‘भल्नरेबलिटी’हरूलाई पनि बाहिर ल्याइदिएको छ । एसभी बैंकको पतनले अन्यत्र बैंक रन र निक्षेप पलायन रोक्न सरकारले पहल गर्नुपर्ने आवाज चर्किरहेकै समयमा फेडरल रिजर्भ र फेडरल बीमा कर्पोरेशनले नयाँ कोष स्थापनाबारे छलफल गरिरहेका छन् ।
फेड आफैले सस्तोमा पैसा छापेर हरेकको गोजीमा अटाई नअटाई पैसा भरिदियो । ती सबै पैसा बैंकमा थुप्रियो । छोटो अवधिमा बैंकका निक्षेप बेलुनझैं फुल्यो । पैसा तह लगाउन बैंकले आफूले बेच्नै नसक्ने/बेचे पनि ठूलो घाटा खाएर बेच्नुपर्ने दीर्घकालीन सम्पत्तिमा लगाए । अहिले बैंकहरूको लगानीको मूल्यांकन र बासलात खुम्चिएको छ । कर्जाको चुलीमा बसेका बेलामा ब्याजदर ह्वात्तै बढेपछि बैंकहरूमाथि दबाब बढ्यो ।
एसभी बैंक धराशयी हुँदासम्म नियामकहरूले के हेरिरहेका थिए भन्ने प्रश्न पनि उठेको छ । यो घटनापछि आफूले जुन तीव्रताका साथ पैसा छाप्यो सोही तीव्रताका साथमा ब्याजदर बढाउँदा के हुन्छ भन्नेमा फेड झल्यास्स बनेको छ । ब्याजदर एक्कासि आक्रामक रूपमा बढ्दा अनि आर्थिक मन्दीको जोखिम उच्च भएको अवस्थामा तयारी नगर्दा के हुँदो रहेछ भनेर बैंकहरूले पनि ठूलो पाठ सिकेका छन् । यसबाट नेपालको बैंकिङ क्षेत्रले पनि केही सिक्ला त ?