ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

किन बढ्दै छ दैनिक उपभोग्य वस्तुको मूल्य ?

२०७९ फागुन, ३०  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्र बैंकको तथ्यांकले माघमा महँगी बढेको देखाएको छ । माघसम्मको तथ्यांकअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति (महँगी) दर ७ दशमलव ८८ प्रतिशत पुगेको छ । मुद्रास्फीति गतवर्षको माघको तुलनामा १ दशमलव ६४ प्रतिशत विन्दुले धेरै हो । गतवर्ष माघमा मुद्रास्फीति दर ६ दशमलव २४ प्रतिशत थियो । पुसमा भन्दा माघमा महँगी बढेको छ । पुसमा मुद्रास्फीति ७ दशमलव २६ प्रतिशत थियो ।

दैनिकीसँग प्रत्यक्ष जोडिएका उपभोग्य वस्तुको मूल्य दिनप्रतिदिन बढ्दै गएपछि आम उपभोक्ता आत्तिन थालेका छन् । दाल, चामल, गेडागुडी, फलफूल, माछामासु, अण्डा, दूध, दही र हरिया सागसब्जीको मूल्य आकाशिँदै जाँदा आम उपभोक्ताको भान्सा दिनदिनै महँगो हुँदै छ ।

यति बेला सबै किसिमका वस्तुमा मूल्यवृद्धि भइरहे पनि दैनिक उपभोग्य खाद्यवस्तुको मूल्यवृद्धि प्रमुख समस्याको विषय भएको खुद्रा व्यापार संघका अध्यक्ष पवित्र वज्राचार्य बताउँछन् ।

विगतको कोरोना महामारी, रूस–युक्रेन तनाव, बैंकको बढ्दो ब्याजदरजस्ता कारणले कच्चा पदार्थदेखि ढुवानी भाडा र श्रमिकको ज्याला बढेकाले त्यसको प्रत्यक्ष असर वस्तुको मूल्यमा पर्न गई मूल्यवृद्धिले सीमा नाघेको उनले बताए । यसबाहेक कतिपय ठूला व्यापारीले राजनीतिक पार्टीमा गर्ने लगानीले मूल्यवृद्धिलाई अझ माथि उकास्न योगदान गरेको उनको बुझाइ छ । ठूला व्यापारीले आफ्नो व्यापारिक स्वार्थपूर्तिका लागि राजनीतिक पार्टी र तिनका नेतालाई लगानी गर्ने तथा त्यसको असुल सामान्य नागरिकबाट गर्ने हुनाले अनावश्यक रूपमा मूल्यवृद्धि हुने गरेको उनले आरोप लगाए ।

उनका अनुसार मूल्यवृद्धिले उपभोक्तालाई मात्रै नभएर खुद्रा व्यापारीलाई समेत सास्ती खेप्न बाध्य बनाएको छ । ‘किनभने खुद्रा व्यापारीले प्रतिशतका आधारमा नाफा राख्दैनन् । ५/१० रुपैयाँ नाफा राखेर व्यापार गरेका हुन्छन् । त्यसमा पनि उधारो गयो भने उठाउनै मुश्किल हुन्छ,’ अध्यक्ष वज्राचार्य भन्छन्, ‘उपभोक्तासँग प्रत्यक्ष जोडिने भएकाले महँगी बढेको गुनासो पनि सबैले खुद्रालाई नै गर्छन् । बजार अनुगमन पनि खुद्रामै गरिन्छ जबकि मूल्यवृद्धिमा खुद्रा व्यापारीको कुनै हात हुँदैन ।’

संघले दिएको तथ्यांकअनुसार यस अवधिमा अवधिमा त्रिशूलीको पोख्रेली चामलको खुद्रा मूल्य ७० बाट बढेर ९० रुपैयाँ किलो पुगेको छ । मुसुरोको दाल किलोमै ५० रुपैयाँ बढेर १ सय ५० रुपैयाँ किलो पुगेको छ । यसअघि १ सय रुपैयाँ किलोमा किनबेच भइरहेको रहर दालको खुद्रा मूल्य १ सय ७० रुपैयाँ कायम भएको छ । हरियो केराउको मूल्य प्रतिकिलो ७० बाट १ सय ४० रुपैयाँ पुगेको छ । त्यसैगरी भुटेको तोरीको तेल २ सय २० बाट बढेर ३ सय ५० रुपैयाँ पुगेको छ । भटमास तेलको मूल्य लिटरमै १ सय ५ रुपैयाँ बढेर २ सय २० पुगेको छ ।

दुग्ध व्यवसायीले गाईबस्तुलाई खुवाउने दाना तथा चोकरको मूल्य बढेकाले किसान मर्कामा परेको भन्दै केही दिनअघि दूधको उपभोक्ता मूल्य प्रतिलिटर १४ रुपैयाँले बढाएका छन् । यससँगै दूधको मूल्य लिटरको सय रुपैयाँ पुगेको छ । दूधको मूल्य बढेपछि यसबाट बन्ने सबै परिकारको मूल्य बढ्ने निश्चित छ । डेरी उद्योग संघका अध्यक्ष प्र⋲लाद दाहालले दूधको मूल्य बढेपछि त्यसबाट बन्ने मिठाइ, आइसक्रिम, छुर्पीलगायतको मूल्य स्वाभाविक रूपमा बढ्ने बताए । कच्चा पदार्थको मूल्य बढेर किसानको लागत बढेपछि दूधको मूल्य बढाउन बाध्य भएको उनको भनाइ छ ।

ब्रोइलर कुखुरा मासुको मूल्य महीना दिनमै ७० रुपैयाँसम्मले बढेर प्रतिकिलो ४ सय पुगेको छ । कुखुरालाई खुवाइने दाना, औषधिलगायत वस्तुको मूल्य अत्यधिक बढेर कुखुरापालक किसानले चल्ला पाल्नै छाडेर चल्ला विक्री हुन छाडेपछि कुखुरा उत्पादन घट्यो । यसले गर्दा बजारमा जिउँदो कुखुराको अभाव हुन गई मासुको मूल्य बढेको मासु व्यवसायी संघका अध्यक्ष जंगबहादर बिसीले जानकारी दिए । उनका अनुसार तत्काल मासुको मूल्य घट्ने सम्भावना छैन ।

त्यसैगरी हिउँदे तरकारीको सिजन सकिएसँगै हरियो तरकारीको मूल्य पनि महँगिएको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीले केही सातायता हरियो तरकारीको मूल्य बढेको देखाउँछ । ब्रोकाउलीको मूल्य ५६ रुपैयाँ प्रतिकिलोबाट बढेर ८० पुगेको छ । लोकल गोलभेडाको मूल्य प्रतिकिलो २२ रुपैयाँबाट बढेर ४० पुगेको छ । त्यसैगरी रातो मूलाको मूल्य प्रतिकिलो ४५ रुपैयाँबाट बढेर ७० पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)