काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गरेको पहिलो वर्ष नै १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
फागुन २९ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० दशमलव ५३ प्रतिशत करसमेत नगद लाभांश वितरण गर्ने निणर्य गरेको हो ।
कम्पनीले गत भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरी असोज ११ गते बाँडफाँट गरेको थियो । हाल कम्पनीको चुक्तापूँजी रू. ८५ करोड रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले नगद लाभांश वितरण गर्न लागेको हो ।
प्रस्तावित नगद लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि कम्पनीले चैत २० गते १८ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले आभ्या क्लब घारीपाटन कास्की, पोखरामा बिहान ११ बजे सभा बोलाएको हो ।
सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरूउपर छलफल गर्नुका साथै सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पनि छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १३ गते एक दिन बुक क्लोज गर्दै छ । यसको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरूमात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले कास्की जिल्लामा मद्क्युखोलाको पानीबाट १३ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी बिजुली उत्पादन गर्दै आएको छ । उक्त आयोजनाबाट २०७४ साल चैत १९ गतेदेखि विद्युत् उत्पादन भइरहेको छ ।
आयोजनाको कुल लागत रू. २ अर्ब ३१ करोडभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत रू. १७ करोड ८२ लाखभन्दा बढी छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले रू. ६ करोड २७ लाखभन्दा बढी नाफा गरेको छ । सो अवधिसम्म कम्पनीले विद्युत् विक्रीबाट रू. १९ करोड ३३ लाखभन्दा बढी आम्दानी गरेको छ ।