काठमाडौं । अमेरिकाको ठूलो बैंकमध्येको एउटा बैंक सिलिकम भ्याली बैंक (एसभी बैंक) को अवसानयता अमेरिकामा धमाधम बैंकहरू धराशयी बन्ने क्रम शुरू भएको छ ।
एक हप्ताको अवधिमा सिग्नेचर र सिल्भरगेट बैंक पनि ढलिसकेका छन् । पहिलादेखि नै लगानीका लागि भनेजति रकम नपाइरहेका प्रविधि क्रिप्टो जस्ता क्षेत्रमा लगानीको खडेरी पर्ने चिन्ता चुलिएको छ । यसको असरले विश्व अनि एशियाली शेयर बजार कसरी अछुतो रहन सक्थ्यो र !
एसभी बैंक पतनको असर अमेरिकी शेयर बजारमा देखिँदै गर्दा यसको असर पोखिएर यूरोप, एशिया-प्रशान्त क्षेत्रका बजार पनि राताम्मे छन् । बैंकिङ क्षेत्रमा भविष्यमा यस्तै खालको दुर्गति दोहोरिन नदिन अमेरिकी राष्ट्रपति जो बाइडेनले बैंकिङ प्रणालीको सुरक्षाका लागि चाहिने जेसुकै काम गर्ने वाचा गरे । तर उनको वाचाले पनि लगानीकर्ताहरूलाई आश्वस्त पार्न सकेन । अन्य बैंकहरू पनि यसैगरी ढल्ने हो कि भन्ने भय लगानीकर्ताहरूमा हाबी हुँदा यसको असर शेयर बजारमा समेत देखिएको बताइन्छ ।
मंगलवारको कारोबारमा विश्व शेयर बजारमा तीव्र कमी देखिएको छ । जापानमा टपिक्स ७ प्रतिशतभन्दा धेरैले घट्यो । टपिक्स यो स्तरमा घटेको यो तीन वर्षभन्दा बढी समययता पहिलो पटक हो । एशियामा मध्याह्नको कारोबारमा मिचुबिसी यूएफजे फाइनान्सियल ग्रुपको शेयर ८ दशमलव १ प्रतिशतसम्म घटेको थियो । सोमवार स्पेनको स्ट्यान्डर र जर्मनीको कमर्ज बैंकका शेयर पनि कुनै क्षणमा १० प्रतिशत भन्दा धेरैले घटेको थियो । यूरोपका समकक्षीको तुलनमा अमेरिकामा केही साना बैंकहरूको अवस्था झनै खराब थियो ।
एसभी बैंकको पतनका कारण उत्पन्न झट्काबाट ग्राहकहरूलाई जोगाउन आफूसँग पर्याप्त भन्दा धेरै तरलता छ भन्ने आश्वासन गर्दा गर्दै पनि बैंकमा निक्षेप फिर्ता लग्नेको भिड (बैंक रन) देखिन छाडेन । यस्तो अवस्थाबीच फेडले ब्याजदर वृद्धि तत्काललाई रोक्ने आँकलन चुलिएको छ ।
एसभी बैंक र सिग्नेचर बैंक धराशयी बन्दाको असरले मंगलवार कुनै क्षणमा ४ खर्ब ६५ अर्ब डलर बजार पूँजीकरण गुमेको थियो । अमेरिकामा मंगलवार पनि शेयर बजार रातोमै रहने फयूचर्सले देखाएका छन् ।
यो समाचार तयार पार्दाखेरि यूरोपमा बजार मिश्रीत छ । बेलायतको फुट्सी शून्य दशमलव ५५ प्रतिशतले घटको छ । जर्मनीमा डीएएक्स र फ्रान्सको क्याक ४० पनि रातोमै छन् । जापानमा निक्केई २२५ परिसूचक २ दशमलव २४ प्रतिशतले घटेर तल झरेको छ । हङकङमा हाङशेङ, दक्षिण कोरियाको कोस्पी, इन्डोनेशियाको जर्काता कम्पोजिटसमेत केही बजारमा २ प्रतिशतको भन्दा धेरैको कमी देखिएको छ ।
चीनमा शाङ्हाई कम्पोजिट भने शून्य दशमलव ७२ प्रतिशतले घटेको थियो । भारतमा पनि शेयर बजार रातोमै थियो । एशिया-प्रशान्त क्षेत्रमा बैंकिङ क्षेत्रमा दबाब उच्च थियो ।अधिकांश बजार बियरिश छन् ।
एसभी बैंकको पतनपछि अमेरिकी डलर कमजोर बन्दा भारतीय रुपयालाई भने फाइदा भएको छ । मंगलवार विश्वको मुद्रा बजार डलर कयौं हप्तायताकै न्यून स्तरमा ओर्लिएपछि डलरको तुलनामा भारतीय रुपयाको भाउ ३ पैसाले बढेर ८२ रुपया २७ पैसामा आएको थियो । बजार खुल्दै खेरि डलरको तुलनामा रुपयाको भाउ २५ पैसाले बढेको थियो । तर आयातकर्ताहरूबाट डलरको माग बढेपछि रुपयाको भाउमा देखिएको वृद्धि केही उल्टिएको छ । एजेन्सी