म्याग्दी । शिरानमा गाउँ, पुछारमा जंगल, बीचमा तीन ओटा सुविधा सम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ ।
व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ । बिममा २०६८ सालमा सीटीईभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटीए, २०७२ सालदेखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशुविज्ञान तहको पठनपाठन शुरू भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका किसानी कृषि प्राविधिक शिक्षालयका प्रमुख करन कँडेलले बताए ।
कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पठनपाठन हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन् । ‘कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनुका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा लगेर विक्री गर्ने गरेका छौं,’ शिक्षालयका प्रमुख कँडेलले भने, ‘हाम्रो आफ्नै कृषि फार्म पनि छ, त्यहाँ तरकारी र फलफूल खेती, च्याउखेती, माछापालन आदि गरेका छौं, खेतबारीमा नै पुगेर किसानसँगसँगै अभ्यास गर्दा अझ व्यावहारिक हुने भएकाले किसानकै खेतबारीमा पठाउने गरेका हौं ।’
कृषि प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीले विद्यालयमा शिक्षामात्र लिएका छैनन्, उनीहरूले जानेको प्राविधिक सहयोग किसानलाई समेत दिन थालेका छन् । विद्यार्थीले किसानको समस्या पहिचान गरी सहयोग गर्दै आएको प्रमुख कँडेलले बताए । किसानले समेत कृषिलाई आधुनिकीकरण गर्दै कृषिमा हुने समस्याबारे जानकारी लिन सहज भएको उनको भनाइ छ ।
बिमको कृषि प्राविधिक शिक्षालयमा १८ महिने जेटीएको अध्ययन सकेर अहिले मंगला गाउँपालिकाको कृषि शाखामा कार्यरत जगत बानियाँ, बेनीको एक गैरसरकारी संस्थामा कार्यरत कृष्ण सुवेदी, जुम्ला खलंगाकी जानुका बडाललगायत ६० जनाभन्दा बढी युवायुवतीले रोजगारी पाउनुका साथै व्यक्तिगतरूपमा नै कृषि फार्म सञ्चालन गरेर आम्दानी गर्दै आएको शिक्षालयका प्रमुख कँडेलले बताए ।
यस शिक्षालयका विद्यार्थीले पढाइसँगै आम्दानी पनि गर्दै आएका छन् । विद्यालयले २० रोपनी जग्गा भाडामा लिएर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिँदै आएको छ । विद्यार्थीले बारीमा लगाएका कृषिउपज स्थानीय बजारमै खपत हुन्छ । विक्रीबाट आएको नाफा ७५ प्रतिशत विद्यार्थीलाई दिएर २५ प्रतिशतमात्र विद्यालयले राख्ने गरेको छ । ‘हामीले विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बीउबीजन सबै उपलब्ध गराउँछौं,’ शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले भने, ‘विद्यार्थीले उत्पादन विक्री गरेको रकमको २५ प्रतिशत राखेर हामीले अर्को पटकका लागि लगानी जुटाउँछौं ।’
विद्यार्थीको धेरै समय कक्षाकोठाभन्दा खेतबारीमै बित्ने गरेको छ । उनीहरूले विद्यालयमा अध्ययन गरेका कुरा घरमा गएर अभिभावकलाई सिकाउँछन् । परम्परागत खेती गर्दै आएका अभिभावक पनि छोराछोरीले सिकेको ज्ञान खेतबारीमा लगानी गर्न सकेकामा खुशी छन् । ‘घरका सबैले पुरानै तरीकाबाट कृषि गर्दै आएका थियौं, खेतबारीमा दिनहरू बिताउँदासमेत तरकारी खेतीबाट खासै आम्दानी हुन सकेको थिएन,’ तिलकुमारी रिजालले भनिन्, ‘उही निर्वाहमुखी खेती भइरहेको थियो, एक वर्षअघिदेखि छोरीले विद्यालयमा सिकेअनुसारले खेती गर्न थालेका छौं, उत्पादन पनि बढेको छ, धेरथोर बजारमा पनि विक्री गर्न सकेका छौं ।’
विद्यार्थी पनि गाउँमै बाली विज्ञान पढ्न पाएकामा खुशी छन् । प्राविधिक विषय पढेपछि बेरोजगार हुनु पर्दैन भन्ने विश्वास विद्यार्थीमा देखिन्छ । ‘मेरो सानैदेखि कृषि रुचिको विषय हो,’ आईएसईएजी प्रथम वर्षमा पढ्ने विशाल रिजालले भने, ‘सानैदेखि घरमा बुवाआमासँगै खेतबारीमा जाने उहाँहरूलाई सघाउने गर्थें ।’ शहरमा महँगो शुल्क तिरेर पढ्नुपर्ने विषय गाउँमै सस्तोमा पढ्न पाएकामा उनी खुशी छन् ।
‘टाढाबाट आउने विद्यार्थीका लागि बस्ने समस्यालाई मध्यनजर गरेर हामीले आफ्नै छात्रवास निर्माण गर्यौं,’ शिक्षालयका संयोजक कँडेलले भने, ‘चमेनागृह पनि सञ्चालनमा ल्याएका छौं । छात्रवासमा बस्ने विद्यार्थीले आफ्नो खर्चमा मेसमा खान्छन् बस्नका लागि कुनै शुल्क लाग्दैन ।’ रासस