काठमाडौं । ‘सूर्य नेपाल गल्फ टुर २०२२–२३’ अन्तर्गतको पाँचौं प्रतियोगिता, ‘सूर्य नेपाल सेन्ट्रल ओपन’को पहिलो दिन गल्फर शुक्र तामाङ ७–अन्डर ६५ को स्कोरमा शीर्षस्थानमा छन् । भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पार्दै साविक विजेता शुक्र शीर्षस्थानना पुगेका हुन् । ६–अन्डर ६६ सहित भुवन दोस्रो स्थानमा रहेका छन् । कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा ३१ प्रोफेसनल र ९ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गरिरहेको आयोजकले जानकारी दिएको छ । प्रोफेसनलतर्फका विजेताले उपाधिसँगै १ लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले ९० हजार रुपैयाँ र तेस्रो हुनेले ६७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी चौथो र पाँचौं हुने खेलाडीले क्रमश: ५५ हजार रुपैयाँ र ४७ हजार रुपैयाँ हात पार्नेछन् । साथै उत्कृष्ट २१ मा प्रतियोगिता सकाउने खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्ने बताइएको छ ।