ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युतीय चूल्होमा आकर्षण

२०७९ चैत, १  
टिप्पणी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

 

 

वर्षायाममा मागभन्दा बढी विद्युत् आपूर्ति हुन थालेपछि सरकारले ग्यास चूल्होको प्रयोग घटाउँदै विद्युतीय चूल्हाको प्रयोग बढाउने नीति लिए पनि अपेक्षित सफलता प्राप्त हुन सकेको छैन । यसो हुनुमा सरकारी कमजोरी एउटा कारण हो भने अर्को उपभोक्तालाई नयाँ प्रविधिमा अभ्यस्त हुन समय लाग्नु हो । विद्युतीय चूल्होको प्रयोग कम भए पनि धेरैको घरमा विकल्पका रूपमा यसलाई प्रयोग गर्ने गरिएको भने पाइन्छ ।

सरकारले अनुदानमा चूल्हो वितरण गर्ने जस्ता नीति लिनु गलत हो । उपभोक्ता आफैले यो सस्तो छ, सुरक्षित छ र भरपर्दो पनि छ भनेर अनुभव गरे भने अनुदानको चूल्हो आवश्यक पर्दैन । अर्को सरकारको नीति नै गलत छ । आयातित एलपी ग्यासमा अनुदान दिइन्छ तर स्वदेशी उत्पादन बिजुलीमा न अनुदान छ न त महसुल घटाउन नै चासो दिइएको छ । उल्टो, केही युनिट सित्तैमा बाल्न दिने नीति लिइएको छ । विपन्न वर्गलाई लक्षित गरी यस्तो नीति लिनु उपयुक्त भए पनि बढी उपभोग गर्नेलाई प्रोत्साहन गर्ने नीति नै छैन । त्यसैले विद्युतीय चूल्होको प्रयोग बढाउने हो भने महसुल घटाउनुपर्छ र बढी उपभोग गर्नेलाई केही छूट दिनुपर्छ ।

सर्वसाधारणमा ग्यास प्रयोग गर्ने बानी छ र त्यसैअनुसार भान्छा र भाँडाको चाँजोपाँजो मिलाएका हुन्छन् । यसमा उनीहरू अभ्यस्त पनि छन् । हरेकजसोले ग्यास सिलिन्डर चाहिनेभन्दा बढी किनेर राखेका छन् । यस्तोमा उनीहरूलाई ग्यास छाडेर विद्युतीय चूल्होमा जान केही समय लाग्नु स्वाभाविक हो । अर्को, विद्युतीय चूल्होमा खाना पकाउँदा निकै कम पैसा लाग्ने होइन । त्यसो हुँदा उनीहरू विद्युतीयमा रूपान्तरण हुन हिचकिचाइरहेका हुन् ।

लोडशेडिङको समयमा भन्दा अहिले नेपालमा प्रतिव्यक्ति विद्युत् खपत बढेको छ । घरायसी विद्युतीय उपकरणको प्रयोग अहिले निकै बढेको छ । इन्डक्शन चूल्हो किनेर पनि सर्वसाधारणले किन यसको प्रयोग कहिलेकाहीँ मात्र गर्छन् भन्ने कुराको उत्तर खोज्ने हो भने यसको प्रयोग बढाउन सकिन्छ । तर, चेतनाको अभाव भन्दै मूल कारणलाई बेवास्ता गर्ने हो भने सरकारको लक्ष्य पूरा हुन कठिन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)