काठमाडौं । बैंकिङ सेवा निर्बाध रूपमा सञ्चालन हुने वातावरण सृजना गर्न बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले माग गरेको छ । मंगलवार विज्ञप्ति जारी गर्दै परिसंघले बैंक सञ्चालनका लागि आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाउन सरकार, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंकसहितका सरोकारवालासँग आग्रह गरेको हो ।
‘सुरक्षा निकाय, अस्पताल, बैंक तथा वित्तीय संस्था, एम्बुलेन्स, खानेपानी, फोहोर व्यवस्थापनलगायत क्षेत्रलाई अत्यावश्यक सेवाका क्षेत्रको रूपमा परिभाषित गरी यस्ता क्षेत्रमा कुनै पनि किसिमका बन्द तथा हड्ताल जस्ता कार्य गर्न नहुने/नपाइने गरी नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरिसकेको छ,’ सिबिफिनको विज्ञप्तिमा उल्लेख छ, ‘सोको उल्लंघन गर्दै विभिन्न व्यावसायिक संस्थाहरूले फागुन ३० गते हेटौंडास्थित कुमारी बैंकको शाखा कार्यालय लगायतमा बैंकिङ सेवा अवरुद्ध गर्ने, सेवाग्राहीलाई सेवा लिनबाट वञ्चित गर्ने, धरपकड गर्ने र कार्यालय नै बन्द गर्न पत्र संप्रेषणसहित धम्की दिने जस्ता गतिविधिप्रति गहिरो खेद प्रकट गर्दछौं ।’
जस्तोसुकै समस्याको समुचित समाधानका उपाय वार्ता तथा संवादको माध्यमबाट पहिल्याउन सकिने मान्यताबमोजिम बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयमा गरिने धर्ना, धरपकड र कार्यालय नै बन्द गर्ने कार्य तत्काल रोकेर सहज ढंगबाट समस्या समाधानका लागि तत्काल आवश्यक पहलकदम चाल्न सिबिफिनले आग्रह गरेको छ ।
ब्याजदरको विरोध गर्दै व्यवसायीहरू आन्दोलित भइरहेका बेला मकवानपुर उद्योग वाणिज्य संघले भने पत्र नै पठाएर मंगलवार बैंकका शाखा बन्द गर्न अनुरोध गरेको थियो । यसैगरी केही व्यवसायीले सोमवारदेखि राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा धर्ना समेत दिइरहेका छन् । बैंकविरुद्धको आन्दोलन चर्किंदै गएपछि यसलाई नियन्त्रण गर्न यसअघि नै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिइसकेको छ ।