ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

सिलिकन भ्याली बैंकको अवसान : कारण, प्रभाव र सिक्नुपर्ने पाठ

२०७९ चैत, १  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found

अमेरिकामा सन् २००८ मा ‘लेहम्यान ब्रदर्स’ टाट पल्टेपछिको सबैभन्दा ठूलो बैंकिङ दुर्घटना स्वरूप गत शुक्रवार ३५ वर्षे सिलिकन भ्याली बैंक बन्द भएको र त्यसपछि क्रमश: सिल्भरगेट तथा सिग्नेचर बैंकहरूमा पनि संकटको बाछिटाहरू देखिन थालेपछि नेपालमा पनि बैंकिङ क्षेत्रको भविष्यका बारेमा विभिन्न प्रकारले बहस शुरू भएको छ ।

यस आलेखमा सिलिकन भ्याली बैंकमा अचानक निम्तिएको संकटका कारणहरू तथा तज्जन्य प्रभावका बारेमा संक्षेपमा उल्लेख गर्दै यस प्रकारको घटनाबाट नेपालजस्ता देशहरूले वित्तीय स्थायित्वका लागि सिक्नुपर्ने पाठका बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ ।

बैंकमा संकट आएका बेला उद्धार गर्न भनेर व्यवस्था गरिएको कोषको रकम बैंकमा नै राखेपछि संकटको बेलामा त्यसले कसरी सहयोगी भूमिका निर्वाह गर्न सक्ला र ?

बैंक अवसान हुनुका कारण
नेपालमा कतिपय व्यक्ति तथा समाचारपत्रहरूले समेत अहिले नेपालमा भइरहेको उच्च ब्याजदर विरुद्धको कथित आन्दोलनलाई जायज पुष्टि गर्ने प्रयास स्वरूप सिलिकन भ्याली बैंक डुब्नुका पछाडि यही उच्च ब्याजका कारण कर्जा असुलीमा समस्या परेको भनी भ्रम छरिरहेका छन् । वास्तवमा यो बैंक चर्को ब्याजका कारण ऋणीहरूले समयमै ब्याज तथा साँवा तिर्न नसकेका कारण बन्द भएको नभई आकस्मिक रूपमा उच्च राशिमा निक्षेप फिर्ता भएपछि सृजित तरलता–संकटको कारण बन्द हुन पुगेको हो । यसरी निक्षेप फिर्ता हुनुमा निक्षेपकर्ताको बैंकप्रतिको विश्वासमा आएको संकटलाई प्रमुख कारणका रूपमा औंल्याउन सकिन्छ । यस्तो विश्वासको संकट देखापर्नुका पछाडि अन्य केही कारण रहेका छन् ।

वास्तवमा बैंकले आफ्नो बढ्दो निक्षेपमध्ये करीब ४३ प्रतिशत कर्जा प्रवाह गरी बाँकी निक्षेपको अधिकांश अंश बजारमा बैंक ब्याजदर कम भएको अवस्थामा उच्च प्रतिफल पाउने आशामा बन्डमा लगानी गरेको रहेछ । पछि बिस्तारै ब्याजदरमा वृद्धि भएपछि बन्डको मूल्य दोस्रो बजारमा स्वाभाविक रूपमा घट्न पुग्यो । यसरी आफ्नो उच्च लगानी रहेको सम्पत्तिको मूल्यमा १० प्रतिशतको हाराहारीमा अवमूल्यन भएपछि बैंकको वासलात प्रतिकूल देखियो । त्यसको संशोधनका लागि बैंकले न्यून मूल्यमै आफ्नो बन्ड विक्री मात्र गरेन अपितु यो प्रयत्नलाई थप सशक्त बनाउन उसले केही दिनभित्रै पुन: अढाई अर्ब बराबरको बन्ड बेच्ने योजना पनि सार्वजनिक गर्‍यो । यो सूचनाले बैंक वित्तीय रूपमा धराशयी हुन लागेको हल्ला फैलियो र यही विन्दुबाट उसका निक्षेपकर्ता बैंकको वित्तीय अवस्थाप्रति सशंकित बने । बैंकप्रति उनीहरूको विश्वास डगमगाउन थाल्यो र उनीहरूले धमाधम आफ्नो निक्षेप झिक्न थाले । करीब २०० अर्ब डलर बराबर निक्षेप भएको बैंकमा गत बिहीवार एकै दिनमा ४२ अर्ब बराबरको निक्षेप झिकिएपछि उत्पन्न चरम तरलता संकटका कारण बैंकको असामयिक अवसान हुन पुग्यो ।

सम्भावित प्रभाव
यो बैंकको पतनको प्रत्यक्ष प्रभाव निक्षेपकर्तामाथि पर्ने देखिन्छ । साढे २ लाख डलरसम्मको निक्षेप ‘संघीय निक्षेप बीमा निगम’मार्फत बीमा गरिएकाले सुरक्षित नै मान्न सकिए पनि त्योभन्दा बढी निक्षेप भएकाहरूको हकमा बैंकको वित्तीय एवं अन्य प्रकारका सम्पत्ति विक्री गरेर प्राप्त हुने रकममार्फत भविष्यमा निक्षेप फिर्ता दिने योजना देखिन्छ । यद्यपि त्यहाँको ‘बैंक टर्म फन्डिङ कार्यक्रम’ का लागि फेडरल रिजर्भले थप रकम निकासा गरेको आलोकमा सरकारले प्रत्यक्ष उद्धार गर्ने अपेक्षा पनि गर्न सकिन्छ । कथं त्यसो भएन भने यो बैंकका ठूला निक्षेपकर्ताको रकमको भविष्य अन्योलग्रस्त देखिन्छ ।

खासगरी उक्त बैंकमा ठूलो राशिमा निक्षेप राख्ने ‘रोकुले’ जस्ता स्टार्टअप तथा भेन्चर क्यापिटलजस्ता कम्पनीहरूको निक्षेप अन्योलग्रस्त छ । रोकुले कम्पनीको मात्र उक्त बैंकमा ५० करोड डलर बराबरको निक्षेप रहेछ । यो रकम उसको अन्य सबै बैंकमा भएको निक्षेपको २६ प्रतिशत जति हुन आउने रहेछ । त्यसै गरी भिडियो गेमसम्बन्धी अर्को स्टार्टअप कम्पनी रोब्लोक्सको यो बैंकमा १५ करोड डलरको हाराहारीमा निक्षेप रहेको रहेछ ।

सिलिकन भ्याली बैंकमा निक्षेप रहेको बच्चाहरूको कपडा बेच्ने स्टार्टअपले त आफ्नो निक्षेप अनिश्चित भएपछि व्यवसायको भविष्यप्रति चिन्ता व्यक्त गर्दै ४० प्रतिशतसम्मको छूटसहित स्टक क्लियर गर्ने सूचना जारी गरेको छ । यसरी यो बैंकको पतनले प्रत्यक्ष रूपमा त्यो बैंकसँग कारोबार गर्ने कम्पनीहरूमात्र नभई ती सम्बद्ध अन्य सरोकारवाला व्यक्ति तथा कम्पनीहरू समेतलाई प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।

सबैभन्दा महत्त्वपूर्ण कुरा बैंकहरूको यस्तो अवसानले आमजनतामा बैंक तथा वित्तीय प्रणालीप्रति नै अविश्वासको वातावरण सृजना गर्ने र त्यसले समग्र अर्थ व्यवस्थालाई नै धराशयी बनाउने जोखिम रहन्छ ।

सिक्नुपर्ने पाठ
सिलिकन भ्याली बैंकसँग नेपालका स्टार्टअप तथा भेन्चर कम्पनीहरूको कारोबार भएको तथ्य अहिलेसम्म सार्वजनिक भएको छैन । यस हिसाबले यो बैंकको पतनका कारण नेपाली कुनै पनि व्यवसाय तथा बैंकहरूमाथि प्रत्यक्ष रूपमा असर पर्ने त देखिँदैन तर पनि सुरक्षित भविष्यका लागि यो घटनाबाट सम्बद्ध सबैले पर्याप्त पाठ भने सिक्न सक्छन् ।

निक्षेपकर्ताले यो घटनाबाट सिक्नसक्ने पाठ भनेको आफ्नो निक्षेपको विविधीकरणसँग सम्बद्ध छ । नेपालमा अहिले ५ लाखसम्मको निक्षेप ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’मार्फत बीमा गरिएको छ । यो व्यवस्थाको आलोकमा आफूसँग भएको रकम बीमा रकमको सीमासँग तादात्म्य हुने गरी विभिन्न बैंकमा जम्मा गर्नुपर्ने पाठ उनीहरूले सिक्न सक्छन् ।

कर्जा तथा निक्षेप सुरक्षण निगमले पनि बेलैमा यो घटनाबाट पाठ सिक्नुपर्ने देखिन्छ । अहिले बीमा गरिएको सीमासम्मको निक्षेपबापत प्राप्त हुने बीमाशुल्क यो कम्पनीले बैंकहरूमा नै निक्षेपका रूपमा राखेको छ । बैंकमा संकट आएका बेला उद्धार गर्न भनेर व्यवस्था गरिएको कोषको रकम बैंकमा नै राखेपछि संकटको बेलामा त्यसले कसरी सहयोगी भूमिका निर्वाह गर्न सक्ला र ? त्यसैले यो घटनाबाट उक्त ‘कोष’ले पनि व्यावहारिक पाठ सिक्नैपर्ने हुन्छ ।   

बैंकहरूको दृष्टिले हेर्दा यो घटनाले संस्थागत ठूला ठूला निक्षेपमा अधिक निर्भर हुँदा बैंकहरू धराशयी हुने बढी जोखिम देखिएको छ । यसबाट नेपाली बैंकहरूले संस्थागत निक्षेपमा भन्दा सानासाना खुद्रा निक्षेप संकलन गर्नेतर्फ केन्द्रित हुनुपर्ने पाठ सिक्न सक्छन् । फेरि सिलिकन भ्याली बैंक विशेष गरी भेन्चर क्यापिटल तथा स्टार्टअप कम्पनीहरूतर्फ मात्र केन्द्रित भई आक्रामक रूपमा तिनको निक्षेप संकलन गर्न सफल भएको रहेछ । त्यसका साथै उक्त बैंक प्रविधिको क्षेत्रमा चाहिनेभन्दा बढी नै आक्रामक भएको पनि बताइन्छ । त्यसै कारण हुनसक्छ ट्वीटरका मालिकले आफूले उक्त बैंक किनेर डिजिटल बैंकका रूपमा विकास गर्ने प्रारम्भिक टिप्पणी गरेको समाचारहरू पनि सार्वजनिक भए ।

यसबाट कुनै क्षेत्र विशेष र व्यवसाय विशेष भएर बैंकिङ कारोबार सञ्चालन गर्नुभन्दा लगानी, निक्षेप तथा ग्राहकमा विविधीकरण भयो भने त्यो कम जोखीमयुक्त हुने कुरा पनि यो घटनाबाट बैंकहरूका लागि थप पाठ हुन सक्छ । नियामक निकायले पनि कुनै क्षेत्र तथा व्यवसाय केन्द्रित बैंकहरूका लागि विशेष प्रकारको सुपरिवेक्षण गर्नुपर्ने पाठ सिक्न सक्छ ।

साथै जोखिम मूल्यांकन र प्रभावकारी व्यवस्थापनको महत्त्वलाई पनि यो घटनाले थप उजागर गरेको छ । उक्त बैंकले तत्कालीन ब्याजदरलाई केन्द्र विन्दुमा राखेर दीर्घकालीन प्रकृतिको बोन्डमा लगानी गर्नुपूर्व पर्याप्त मात्रामा जोखिमको मूल्यांकन गरेको भए शायद आज उक्त बैंकले यस्तो दुर्दशा भोग्नुपर्ने थिएन होला । यसबाट पनि बैंकहरूले प्रभावकारी व्यवस्थापन र पर्याप्त जोखिम मूल्यांकनमा यथेष्ट महत्त्व दिनुपर्ने कुरा पाठका रूपमा सिक्न सक्छन् ।

१६ प्रतिशतभन्दा माथिको पूँजी पर्याप्ततासहित सबै परिसूचकहरूमा अब्बल देखिएको, कर्जा निक्षेप अनुपात पनि ४३ प्रतिशतको हाराहारीमा मात्र भएको बैंकसमेत एकै दिनमा ४२ अर्ब डलरभन्दा बढी निक्षेप फिर्ता भएपछि आकस्मिक रूपमा अवसान भएको घटनाले बैंकहरू कति फितलो जनविश्वासको धरातलमा टिकेका हुँदा रहेछन् भन्ने स्पष्ट हुन्छ । त्यसैले यो अवसानबाट नेपालीहरूले सिक्नुपर्ने महत्त्वपूर्ण पाठ भनेको बैंक तथा वित्तीय संस्थाप्रतिको जनविश्वासलाई जुनसुकै मूल्यमा पनि डगमगाउन दिन नहुने रहेछ भन्ने नै हो ।

लेखक बैंकर हुन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)