ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

लघुवित्त वित्तीय संस्था : १८ अर्ब नाघ्यो निष्क्रिय कर्जा, ५८ प्रतिशत घट्यो नाफा

२०७९ चैत, १  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । १ वर्षको अवधिमा लघुवित्त वित्तीय संस्थाहरूको खराब कर्जा १ दशमलव ७४ प्रतिशत विन्दुले वृद्धि भएको छ । आर्थिक गतिविधिमा आएको कमीसँगै ऋणको किस्ता तिर्ने ग्राहकको क्षमता घट्नुका साथै लघुवित्तको ऋण मिनाहाको मागसहित शुरू भएको आन्दोलनले असुली प्रभावित भएपछि संस्थाहरूको निष्क्रिय कर्जा वृद्धि भएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आथिक वर्ष (आव) को पुस मसान्तसम्ममा खुद्रा कर्जा प्रदायक लघुवित्त वित्तीय संस्थाको निष्क्रिय कर्जा ४ दशमलव ६८ प्रतिशत पुगेको छ । २०७९ पुससम्ममा लघुवित्तहरूले कुल ३ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ ऋण प्रवाह गरेकोमा १८ अर्ब ३३ करोड रुपैयाँ निष्क्रिय कर्जा छ ।

२०७८ पुसमा लघुवित्तको निष्क्रिय कर्जा २ दशमलव ९४ प्रतिशत थियो । यस्तै २०७९ असारमा लघुवित्तको निष्क्रिय कर्जा २ दशमलव ५६ प्रतिशत थियो ।

कोभिड–१९ महामारी र रूस–युक्रेन तनावका कारण आर्थिक गतिविधिमा कमी आउँदा लघुवित्तको असुली समेत प्रभावित भएको छ । यस्तै पछिल्लो समय लघुवित्तका ग्राहक ऋण मिनाहा गर्न माग गर्दै आन्दोलनमा उत्रिएका कारण पनि निष्क्रिय कर्जा बढिरहेको नेपाल लघुवित्त बैंकर्स संघका अध्यक्ष प्रकाशराज शर्मा बताउँछन् ।

हाल ६४ ओटा लघुवित्तले १ हजार ३ सय ८१ ओटा समूह बनाएर ५९ लाख ८८ हजार सर्वसाधारणलाई वित्तीय सेवा दिँदै आएका छन् । तीमध्ये ३२ लाख ६० हजार सदस्यले ऋण लिएका छन् । असारमा लघुवित्तबाट ऋण लिनेको संख्या ३३ लाख पुगेकोमा ६ महीनामा ४० हजार घटेका छन् ।

यसैगरी थोक कर्जा प्रदान गर्ने लघुवित्त वित्तीय संस्थाहरूको निष्क्रिय कर्जाको अनुपात पनि २०७९ पुसमा शून्य दशमलव ८७ प्रतिशत पुगेको छ । २०७८ पुसमा शून्य दशमलव ३४ प्रतिशत रहेको खराब कर्जा २०७९ असारमा शून्य दशमलव ४१ प्रतिशत पुगेको थियो । थोक कर्जा दिने लघुवित्तको संख्या चारओटा छ ।

कर्जा लगानी र असुली प्रभावित भएपछि पुसमा लघुवित्तहरूको नाफा पनि घटेको छ । २०७८ पुसमा थोक कर्जा सेवा प्रदायक लघुवित्तले ८१ करोड ९९ लाख रुपैयाँ खुद नाफा गरेकोमा २०७९ पुसमा ४ दशमलव २० प्रतिशतले घटेर ७८ करोड ५५ लाख रुपैयाँमा सीमित छ । यस्तै खुद्रा कर्जा सेवाप्रदायकको नाफा पनि २०७८ पुसको तुलनामा ५८ दशमलव ९० प्रतिशतले घटेर २ अर्ब ४२ करोड २५ लाख रुपैयाँमा सीमित भएको छ ।

बैंक, वित्तीय संस्थामा पहुँच नभएका सर्वसाधारणलाई समूह बनाएर लघुवित्तले धितोमा १५ लाख रुपैयाँसम्म र विनाधितो ७ लाख रुपैयाँसम्म लगानी गर्न पाउँछन् । लघुवित्तले ऋणमा अधिकतम १५ प्रतिशत ब्याज र १ दशमलव ५ प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था छ ।

एउटै व्यक्तिले एकभन्दा बढी लघुवित्तबाट ऋण लिएका कारण समस्या आएको भन्दै राष्ट्र बैंकले पुस १० गते निर्देशन जारी गरी एकजनाले एउटा मात्र संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । यस्तै लघुवित्तबाट ऋण लिएकाहरूले बैंक, वित्तीय संस्थाबाट ऋण लिन नपाउने नियम बनाएको छ ।

लघुवित्तले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा र १० प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्ने व्यवस्था पनि केन्द्रीय बैंकले गरेको छ । यस्तै लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको अधिकतम ब्याजदरको कम्तीमा ५० प्रतिशत हुने गरी निक्षेप/बचतको न्यूनतम ब्याजदर तोक्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)