काठमाडौं ।संघाई बिजनेस ग्रुप अन्तर्गतको त्रिवेणी व्यापार कम्पनीको आम्दानी एकै वर्षमा झण्डै ५० प्रतिशतले बढेको छ ।
केयरएज रेटिङ कम्पनीले सार्वजनिक गरेको रिपोर्ट अनुसार कम्पनीले सन् २०२१ मा २ अर्ब ६८ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२२ मा कम्पनीको व्यापार ४९.७९ प्रतिशतले बढेर ४ अर्ब २ करोड ३० लाख रुपैयाँको पुगेको छ । कम्पनीले नेपालमा इलेक्ट्रिक सामान बेच्दै आएको छ ।
अल्पकालीन कर्जाका लागि २ अर्ब २९ करोड रुपैयाँको रेटिङ गराएको कम्पनीले केयर रेटिङ नेपालबाट एफोर रेटिङ पाएको छ ।
संघाई बिजनेस ग्रुपद्वारा सञ्चालित उक्त कम्पनीको सञ्चालक समितिमा एकल सदस्य शैलेश संघाई छन् । संघाई बिजनेस ग्रुपले नेपालमा बैंकिङ, बीमा, उत्पादन, व्यापारलगायत विविध व्यवसायहरू सञ्चालन गर्दै आएको छ ।
यशोदा कम्पनीको आधिकारिक विक्रेता समेत रहेको त्रिवेणी व्यापार कम्पनीले चीन, भारत, कोरियालगायत मुलुकहरूबाट विभिन्न प्रकारका घरायसी सामग्री आयात गरी नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।
कम्पनीले यशोदा ब्रान्डका साथै सामसुङ, पानासोनिक र सन्सुई ब्रान्डको १ हजार ६१९ ओटा डिलरहरूबाट सामग्री विक्री गर्दै आएको छ ।
यस्तै कम्पनीले नेपाली बजारमा १२ ओटा कम्पनीहरूले उत्पादन गरेको ९० ओटाभन्दा बढी वस्तु आयात गरी नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ ।