ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

एक वर्षमा वितरणतर्फको विद्युत् चुहावट १.६६ % घट्यो, माघसम्ममा चुहावट ७.९९ % मात्रै

२०७९ चैत, १  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९ प्रतिशतमा सीमित भएको छ । 

गत वर्षको माघसम्मको तुलनामा यस वर्षको सोही अवधिसम्मको वितरणतर्फको संचित चुहावट (cumulative loss) १.६६ प्रतिशत विन्दुले घटेको हो । गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत् चुहावट ९.६५ प्रतिशत थियो । गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट भने १०.८६ प्रतिशत थियो ।

नियमितरूपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट विद्युत् चुहावट घटेको नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ । 

यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत विन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ । गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो । 

प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत् चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ । गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५.३८ प्रतिशत थियो । 

चालू आवको माघसम्ममा वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत् प्राप्त भएकोमा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् विक्री भएको छ । ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ । 

प्रणालीमा रहेको विद्युत चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ । प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैह्रप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए । ‘ग्राहकका घरमा रािखएका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरी अभियानकै रुपमा सञ्चालन गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । 

‘यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मरहरू फेरिएका छन्, नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालमा आएका छन्, सबस्टेसनको स्तरोन्नति गरिएको छ, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको छ, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको छ, समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको छ ।’

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । 

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रहरूलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ । लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको छ । प्राधिकरणका वितरण केन्द्रहरूले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रूपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन् । 

कार्यालय विद्युत् चुहावट (प्रतिशत)
२०७९ माघसम्म २०७८ माघसम्म २०७९ माघ २०७८ माघ
कोशी प्रादेशिक कार्यालय, विराटनगर  ८.१७ १०.०० ९.७९ ९.२२
मधेश प्रादेशिक कार्यालय, जनकपुर ११.७८ १२.३० ८.०८ ८.५३
बागमती प्रादेशिक कार्यालय, काठमाडौं  ६.२५ ९.३० –०.५९ ८.१६
बागमती प्रदेश डिभिजन कार्यालय, हेटौंडा ५.९९ ४.६३ ४.४८ –०.३६
गण्डकी प्रादेशिक कार्यालय, पोखरा ७.२५ ८.०३ ४.०० ६.३७
लुम्बिनी प्रादेशिक कार्यालय, बुटवल ६.९६ १०.१४ ४.८५ १७.७१
लुम्बिनी प्रदेश डिभिजन कार्यालय, नेपालगञ्ज  ५.०६ ७.४१ ४.२८ ३.२४
कर्णाली प्रादेशिक कार्यालय, सुर्खेत  १५.७४ १५.६९ २६.६६ १८.४७
सुदूरपश्चिम प्रादेशिक कार्यालय, अत्तरिया  ७.१६ ७.२७ २.१० ११.२२
जम्मा ‍‍7.99 ९.६५ ४.८९ ८.८७
               स्रोत : नेपाल विद्युत् प्राधिकरण । 

मधेश प्रदेशको चुहावट ११.७८ प्रतिशतमा झर्यो

प्राधिकरणका सात ओटा प्रादेशिक कार्यालय र दुई ओटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रहरूमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको छ । उक्त कार्यालय मातहतका २३ ओटा वितरण केन्द्रहरूको विद्युत् चुहावट ११.७८ प्रतिशतमा झरेको छ । गत वर्षको माघसम्म ती कार्यालयहरूको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत थियो । 

सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत् चुहावट छ । गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४१.८६ प्रतिशत थियो । 

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ३८.६४ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट १५.८६ प्रतिशत थियो । बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३८.३९ प्रतिशत छ । गत वर्ष त्यस केन्द्रको चुहावट ३९.३४ प्रतिशत थियो । रौतहटको गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३०.५२ प्रतिशत रहेकोमा यस वर्ष ३२.४७ प्रतिशत छ । 

कोसी प्रादेशिक कार्यालय, विराटनगर मातहतका २४ ओटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ८.१७ प्रतिशत छ । अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो । प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रङ्गेली वितरण केन्द्रको छ । यस केन्द्रको विद्युत् चुहावट १९.९५ प्रतिशत छ । अघिल्लो वर्ष १६.०५ प्रतिशत थियो । 

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय, हेटौडा मातहतका ६ ओटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको ४.६३ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा ५.९९ प्रतिशत छ । डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६९ प्रतिशत विद्युत् चुहावट छ । गत वर्ष त्यस केन्द्रको चुहावट २९.७५ प्रतिशत थियो । 

बागमती प्रदेश प्रादेशिक कार्यालय, काठमाडौं मातहतका २० ओटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट ६.२५ प्रतिशत छ । अघिल्लो वर्ष ती वितरण केन्द्रहरूको विद्युत् चुहावट ९.३० प्रतिशत थियो । प्रादेशिक कार्यालय काठमाडौं मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २२.२६ प्रतिशत चुहावट छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट २८.९१ प्रतिशत थियो । 

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ ओटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ८.०३ प्रतिशत रहेकोमा यस वर्षको सोही अवधिमा चुहावट ७.२५ प्रतिशत  छ । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ । केन्द्रको चुहावट अघिल्लो वर्ष ५.१७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ३२.६७ प्रतिशत पुगेको छ । 

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ ओटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट ६.९६ प्रतिशत छ । गत वर्ष यो चुहावट १०.१४ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट पाल्पा वितरण केन्द्रको २१.३३ प्रतिशत रहेको छ । गत वर्ष केन्द्रको चुहावट १६.९५ प्रतिशत थियो । 

लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका ९ ओटा वितरण केन्द्रहरूको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ७.४१ प्रतिशत रहेकोमा यस वर्ष सोही अवधिको ५.०६ प्रतिशत रहेको छ । कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट रोल्पा वितरण केन्द्रको १५.७२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १७.१० प्रतिशत थियो । 

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ७ ओटा वितरण केन्द्रहरूको समग्र विद्युत् चुहावट १५.७४ प्रतिशत छ । गत वर्ष १५.६९ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको छ । केन्द्रको चुहावट गत वर्ष २३.९० प्रतिशत रहेकोमा यस वर्ष बढेर ३६.४६ प्रतिशत पुगेको छ ।  

सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय, अत्तरिया मातहत १२ ओटा वितरण केन्द्रहरूको माघसम्मको समग्र विद्युत् चुहावट ७.१६ प्रतिशत छ । गत वर्षको सोही अवधिमा चुहावट ७.२७ प्रतिशत थियो । कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको छ । गत वर्ष २१.२० प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष घटेर २०.९१ प्रतिशतमा झरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)