काठमाडौं । एलिट क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकरको लाइसेन्स पाएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चैत १ गते क्यापिटललाई मर्चेन्ट बैंकरको लाइसेन्स प्रदान गरेको हो । बोर्डले एलिट क्यापिटललाई अन्य मर्चेन्ट बैंकरहरूले जसरी नै व्यक्तिगत तथा संस्थागत लगानी व्यवस्थापन, कर्पोरेट एडभाइजरी, धितोपत्र प्रत्याभूति (अण्डरराइटिङ) र डीपी सेवा प्रदान गर्ने गरी लाइसेन्स दिएको बताएको छ ।
आगामी दिनमा क्यापिटलले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटल र सामूहिक लगानी कोष योजना व्यवस्थापनका लागि पनि काम गर्ने क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले जानकारी दिएका छन् ।
बोर्डले लाइसेन्स दिएसँगै आगामी साताभित्र औपचारिक रूपमा सेवा सुचारु गर्ने जानकारी कार्यकारी अध्यक्ष आचार्यको भनाइ छ । रू. २२ करोड ५० लाख चुक्तापूँजी रहेको एलिट क्यापिटलमा धितोपत्र बजारका सक्रिय लगानीकर्ता र गैर आवासीय नेपालीहरूको लगानी रहेको जानकारीसमेत आचार्यले दिएका छन् ।
उनका अनुसार क्यापिटलको केन्द्रीय कार्यालय लाजिम्पाट उत्तरढोका, काठमाडौंस्थित मेट्रो पार्कमा रहनेछ । एलिट क्यापिटल मर्चेन्ट बैंकरको रूपमा थपिएसँगै मर्चेन्ट बैंकरको संख्या ३१ पुगेको छ ।