वैदेशिक रोजगार विभागले कामदारका लागि प्राप्त भिसाको नेपाली अनुवाद अनिवार्य गराएर रोजगारीमा जाने कामदार र रोजगार व्यवसायी दुवैलाई बोझ थुपारेको छ । हामी कामदारको पूर्वस्वीकृति ल्याउँदा सम्बन्धित देशमा रहेका नेपाली दूतावासबाट प्रमाणित गराएर ल्याउँछौं । रोजगारदाता कम्पनीले के कामका लागि कामदार मागेको हो त्यो नेपाली दूतावासमा लगेर बुझाउनु पर्छ । त्यसका आधारमा मात्र नेपाली दूतावासले पूर्वस्वीकृतिका लागि सिफारिस गर्दछ । वैदेशिक रोजगार विभागले भिसा अनुवादलाई अनिवार्य गर्नु भनेको दूतावासलाई विश्वास नगर्नु हो ।
हामीले कामदारलाई रोजगारीमा पठाउँदा अलपत्र परेमा उनीहरूको जिम्मा लिन्छौं भनेर हस्ताक्षर गरेका हुन्छौं । भिसा अनुवाद गरेर कामदार पठाउँदा अलपत्र परेमा त्यसको जिम्मेवारी विभागले लिन्छ त ? यदि विभागले त्यसको जिम्मा लिन्छ भने हामी भिसा अनुवाद गर्न तयार छौं । सरकारले भिसा अनुवाद गराएर रोजगार व्यवसायी र रोजगारीमा जाने कामदारलाई हतोत्साहित गर्ने काम गरेको छ । भिसा अनुवाद गर्नेले १ हजार रुपैयाँभन्दा बढी शुल्क लिन्छन् । त्यो शुल्क विदेशमा कमाउन जाने नेपाली गरीब कामदारलाई थप आर्थिक भार हुन्छ । कुनै रोजगारदाताले मजदूर कामदारको माग गरेमा कसैले पनि ड्राइभर पठाएको छैन । मजदूरको ठाउँमा ड्राइभर गएमा त्यसले त्यहाँ गएर ड्राइभिङ काम गर्न पाउँदैन ।
(वैदेशिक रोजगार व्यवसायी संघका महासचिव कुमुद खनालसँगको कुराकानीबाट)
वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७