ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

चिनियाँ लगानीको सम्भावना

२०७९ चैत, २  
सम्पादकीय
Jagdamba Supershine Image Not Found

नेपालको दोस्रो ठूलो व्यापारिक साझेदार चीनका व्यवसायीहरू नेपालमा लगानी गर्न उत्सुक रहेको पाइएको छ । चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टनरनेशनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष चाङ साओकाङले नेपालमा लगानी विस्तार गर्न चाहेको बताएका छन् । यद्यपि चिनियाँ व्यवसायीले नेपालमा चाहेको लगानीका क्षेत्र भने खुलाइएको छैन । नेपाललाई वैदेशिक लगानी चाहिएको र चिनियाँहरू नेपालमा लगानी गर्न इच्छुक भएको अवस्थामा दुई पक्षबीच हुने छलफल, समझदारी र आपसी भ्रमणले लगानीका क्षेत्र विस्तार हुने देखिन्छ । तर, यसबारे सरकारले पर्याप्त अध्ययन गर्नुपर्ने भने देखिन्छ ।

चीन विश्व अर्थतन्त्रमै पहिलो बन्ने प्रयास गर्दै छ भने भारत पनि पाँचौं अर्थतन्त्रबाट माथि उठ्न खोज्दै छ । यी भीमकाय अर्थतन्त्र भएका देशबाट नेपालमा लगानीको अवसर खोजी हुनु स्वाभाविक हो ।

कोरोना शुरू हुनुअगाडि नेपालमा चिनियाँहरूको लगानी बढेको थियो । खासगरी पर्यटन क्षेत्रमा उनीहरूको लगानी बढी थियो । होटेल र रेस्टुराँमा लगानी गरेका उनीहरूले चिनियाँ पर्यटक ल्याउने र त्यसको भुक्तानी वीच्याटबाट गर्ने गर्दा यस्तो लगानीबाट नेपालले खासै लाभ लिन सकेको देखिँदैन । बेलाबेला करछलीको विवाद पनि आउने गर्छ । भाषागत समस्याका कारण चिनियाँ लगानीबाट नेपालले कमै लाभ लिएको देखिन्छ । चिनियाँ लगानीमा साना खुद्रा पसलसमेत खुलेका थिए । यस्तो सानो क्षेत्रमा वैदेशिक लगानी स्वीकृत गर्ने कि नगर्ने भन्नेमै प्रशस्त विवाद रहेको पाइन्छ ।

त्यसो त जलविद्युत्का क्षेत्रमा समेत चिनियाँ लगानी आएको पाइन्छ । चिनियाँले अलि बढी लगानीचाहिँ सिमेन्टमा गरेका छन् । तैपनि चिनियाँ लगानीकर्ताको व्यवहार हेपाहा भएको नेपालीको अनुभव छ । त्यसो त नेपालको पूर्वाधार निर्माणका प्रमुख ठेक्का चिनियाँ कम्पनीले नै पाएका छन् । तर, तिनले समयमा काम सम्पन्न गरेको उदाहरण पाइँदैन । अन्य देशमा समयमै काम सम्पन्न गरेको तथा गुणस्तरीय काम गरेको चिनियाँ कम्पनीले नेपालमा भने काम नगरी आयोजनाको मिति थप्न लगाएको तथा काम पनि गुणस्तरीय नभएको पाइएको छ । यसको कारण खोज्न आवश्यक छ ।

चीन विश्व अर्थतन्त्रमै पहिलो बन्ने प्रयास गर्दै छ भने भारत पनि पाँचौं अर्थतन्त्रबाट माथि उठ्न खोज्दै छ । यी भीमकाय अर्थतन्त्र भएका देशबाट नेपालमा लगानीको अवसर खोजी हुनु स्वाभाविक हो । तर, दुवै देशको लगानी स्वीकृत गर्दा नेपालको भू–सामरिक अप्ठ्यारालाई बिर्सनु हँुदैन । नेपालको विकासका लागि जुनजुन मुलुकले सहयोग गर्छन् तिनको सहयोग लिनुपर्छ तर एउटा मित्रका विरुद्ध अर्कोलाई खेल्ने अवसर भने दिनु हुँदैन । त्यस्तै कुन क्षेत्रमा लगानी गर्न दिँदा सजिलो हुन्छ भन्नेमा पनि नेपालले ध्यान दिनुपर्छ ।

नेपालले विकास आयोजना निर्माण गर्दा भूसामरिक अवस्थामा ध्यान नदिएको देखिन्छ । भैरहवा अन्तरराष्ट्रिय विमानस्थल चीनलाई बनाउन दिँदा भारतीय सुरक्षा चासोमा ध्यान नपुगेको हो कि भन्ने देखिन्छ । त्यही भएर उसले भैरहवा विमानस्थलका लागि आवश्यक हवाई प्रवेश मार्ग दिन मानिरहेको छैन । पोखरा विमानस्थलमै पनि उसले चिन्ता व्यक्त गरेको छ । नेपालको विकास निर्माणको विषयमा नेपालले नै निर्णय गर्ने हो । यसमा अन्य देशले केही भन्न पाउँदैन । तर, सुरक्षा संवेदनशीलताको विषयमा उनीहरूलाई आश्वस्त पार्न नसक्दा नेपाल समस्यामा परेको देखिन्छ ।

चीनले नेपालबाट आयात हुने हजारभन्दा बढी वस्तुलाई भन्साररहित सुविधा दिएको छ । तर, ती वस्तु नेपालमा उत्पादन नै हुँदैनन् । नेपालबाट निर्यात हुन सक्ने र भइरहेका वस्तुमा भने भन्सार र गैरभन्सार अवरोध कायमै रहेको छ । त्यही भएर कोरोनाकालपछि चीनतर्फको निर्यात ठूलो परिमाणमा घटेको छ । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेलामा अम्लीय फलफूल आयात गर्ने भनी सम्झौता गरे पनि विभिन्न बहानामा नेपाली उत्पादन चीन निर्यात हुन सकेको छैन । नेपालमा लगानी आवश्यक छ । यसमा चीनका व्यवसायीले चासो राख्नु सकारात्मक हो । तर लगानी गर्न सकारात्मक छौं भनेर मात्र हुँदैन, वास्तविक लगानी हुुनुपर्छ । लगानी गर्ने नाममा नाफाजति लगानीकर्ताले लिने मात्र पनि हुनुहुँदैन । चीन होस् वा अन्य विदेशीले लगानी गरेपछि त्यसको लाभ आमनेपालीले पनि पाउनुपर्छ र सरकारले त्यसैअनुसार नीति ल्याउनुपर्छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Jagdamba SupershineSunrise BankNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)