रसुवा । डँडेलोले उजाड बनेको उत्तरी रसुवास्थित गतलाङ वन पाखामा वनस्पति नउम्रिएपछि वन व्यवस्थापनको अध्ययन थालिएको छ । विसं २०६५ मा लागेको डँडेलोको चपेटामा परी गतलाङ पाखाको करीब सात सय हेक्टर जमीनका वनस्पति पूर्ण रूपमा नष्ट भएका थिए । डँडेलो लागेको १४ वर्ष बितिसक्दा पनि करीब तीन सय हेक्टरमा कुनै झारपातसमेत नउम्रिएकाले विज्ञटोलीले स्थलगत अध्ययन एवं माटो परीक्षण गरेको हो ।
समुद्र सतहदेखि दुई हजार पाँच सय मिटर उचाइ क्षेत्रमा अवस्थित बोन्जो माने एवं ज्यार्सा गोठेन सामुदायिक वन क्षेत्रमा कुनै पनि वनस्पति नउम्रिने समस्या छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गत वनस्पति शास्त्रको विज्ञ टोलीले गतलाङ पाखामा अध्ययन गरिरहेको डिभिजन वन कार्यालय रसुवाले बताएको छ । गतलाङ पाखामा विज्ञले गरेका सिफारिशका आधारमा वनस्पति रोपण गरिने डिभिजन वन अधिकृत अनिल रेग्मीले जानकारी दिए । डँडेलोको चपेटाकै कारण गतलाङ पाखामा २५–३० हजारभन्दा बढी ठूला–ठूला सल्लाको बोट नष्ट भएका छन् । नडढेका रूख व्यवस्थापन गर्न वन उपभोक्ता समितिले पहल गरिरहेको छ ।
दीर्घकालीन सोच नहुँदा विगत वर्ष रोपण गरिएका अधिकांश टिमुरका बिरुवा नोक्सान भइसकेकाले भावी दिनमा रोपण गर्नुपूर्व नै चौपायका लागि छेकाबारको व्यवस्था गर्न सम्बद्ध निकायलाई अधिकृत रेग्मीले अनुरोध गरे । यस्तै डँडेलो नियन्त्रण सहज बनाउन र वन्यजन्तुलाई पानीको आपूर्ति व्यवस्थापन मिलाउन डिभिजन वन कार्यालय रसुवाले यस वर्ष गतलाङ तथा डाडागाउँका जंगलमा एक–एकओटा पोखरी बनाउने गृहकार्य अघि बढाएको छ । रासस