तनहुँ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँको मादी नदी नियन्त्रण कार्यक्रमअन्तर्गत पहिलो ‘प्याकेज’को निर्माण शुरू भएको छ । अति जोखिम क्षेत्रमा रहेका व्यास नगरपालिका–६ को सिसाघाटदेखि चिन्तुटारसम्मको दूरीमा पहिलो प्याकेजको ग्याबिन बालसहितको बाँध निर्माण थालिएको हो । नदी नियन्त्रण कार्यका लागि दुई प्याकेजमा रू. २८ करोड लागत अनुमान रहेकामा प्रदेश सरकारको रू. १७ करोड विनियोजन गरेपछि निर्माण थालिएको हो ।
उक्त कार्यका लागि कम्पनी सिद्धान्त अमनले ठेक्का सम्झौता गरी काम शुरू गरेको जलस्रोत सिँचाइ विकास डिभिजन कार्यालय तनहुँका डिभिजन प्रमुख रमेशराज शर्माले जानकारी दिए । दोस्रो प्याकेजअन्तर्गत माथिल्लो भतेरीबाट तल्लो भतेरी हँुदै मादीपुलसम्म नयाँ ठेक्काबाट करीब चार सय मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरिनेछ । दोस्रो प्याकेजको निर्माण कार्य पनि छिट्टै शुरू गर्ने गरी एमआर गु्रपले ठेक्का सम्झौता गरेको उनले बताए ।
त्यसैगरी, गत वर्ष मादीनदीमा आएको बाढी कटान गरी जिल्लाको सदरमुकाम दमौली बजार उच्च जोखिममा परेपछि मादीनदी किनारमा ग्याबिन वालसहितको बाँध निर्माण गरिएको छ । पृथ्वीराजमार्ग सडक खण्डअन्तर्गत तनहुँको व्यास–३ स्थित मादीपुलदेखि मादीनदी किनारमा करीब दुई सय ५२ मिटर दूरीमा ग्याबिन वालसहितको बाँध निर्माण गरेको हो । रासस