ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बेनी–जोमसोम–कोरला सडक खण्डको कालोपत्र जारी

२०७९ चैत, २  
गण्डकी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

मुस्ताङ । बेनी–जोमसोम–कोरला सडक खण्डअन्तर्गत थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुलसम्म कालोपत्र गर्ने काम जारी छ । कालोपत्रको काम गौरी पार्वती/कोशी एन्ड न्यौपाने जेभीले गरिरहेको छ ।

मुस्ताङको थासाङ गाउँपालिका–२ खन्तिगाउँदेखि घरपझोङ गाउँपालिका–३ र ४ जोमसोम काठेपुल जोड्न हाल कालोपत्रको काम धमाधम भइरहेको कम्पनीका प्रतिनिधि कमल भण्डारीले बताए । ‘कालोपत्रको काम सक्नेबित्तिकै जोमसोम विमानस्थलदेखि एक किलोमिटर ढलानको कामसमेत शुरू गर्नेछौं,’ उनले भने । प्राविधिक रूपमा समस्या नआएमा असार मसान्तसम्म कालोपत्रसँगै अन्य महत्त्वपूर्ण कामसमेत सकाउने उनले बताए ।

चार नं प्याकेजअन्तर्गत १७ किलोमिटर सडक कालोपत्र गर्नुपर्नेमा हालसम्म ७० प्रतिशत काम सम्पन्न भइसकेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले बताएको छ । हाल भइरहेको काम कालोपत्र र सडक ढलानको हो । यसमा १६ किलोमिटर अस्पताल पेमेण्ड कालोपत्र र एक किलोमिटर आरसीसी बेनी–जोमसोम–कोरला सडक आयोजनाका सब–इन्जिनीयर तुलबहादुर गुरुङले बताए ।

उनका अनुसार कालोपत्र सम्पन्न गर्न रू. ७० करोड ५२ लाख ५७ हजार लागत लाग्नेछ । चार नं प्याकेज (ठेक्का नं–४)मा हुन लागेको उक्त कालोपत्रको काम समयमै सक्न आफू र आयोजनाको टिम लागिपरेको उनले बताए । ‘सधैंभरि सडकलाई दोष दिएर मात्र हुँदैन, जिल्लाका नियमनकारी निकाय, राजनीतिक दल, सरोकारवाला निकाय र सम्बन्धित स्थानका जनप्रतिनिधिले चासो दिनुपर्छ,’ उनले भने ।

२०७३ चैत १ गतेदेखि शुरू भएको बेनी–जोमसोम–कोरला सडक कठिन भू–बनोटका कारण पनि समयमै नसकिएको हो । म्याग्दीको बेनीदेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घासा पुछार अर्थात् काभ्रे भीर र घोप्टे भीरसम्म कठिन भू–बनोटकै कारण सडक निर्माणमा ढिलाइ भइरहेको छ । यद्यपि, मुस्ताङको घासादेखि जोमसोमसम्म सडक निर्माणले भने तीव्रता पाएको छ । विगत केही वर्षयता कोभिड र बाढी पहिरोका कारण काममा ढिलाइ भइरहेकाले पनि मुस्ताङका जनतामा निराशा छाएको थियो ।

यसैबीच, मुस्ताङको थासाङ गाउँपालिका–१ का अध्यक्ष सुरेश थकालीले म्याद थप मात्रै गरिरहने, तर काममा ढिलाइ गर्ने निर्माण कम्पनीलाई कारबाही गर्ने बताए । ‘कसैले विकासको काममा अवरोध गर्छ भने त्यसलाई पनि हदैसम्मको कारबाही गर्नेछौं,’ उनले भने । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)