ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

पर्यटकीय गन्तव्य सिक्लेस सडक कालोपत्र गरिँदै

२०७९ चैत, २  
गण्डकी प्रदेश
Tvs Raider NA

कास्की । पर्यटकीय हिसाबले महत्त्वपूर्ण कास्कीको मादी गाउँपालिका–१ सिक्लेस पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । काहुँखोला–सिक्लेस सडकखण्डको ट्र्याक २०५८ सालमा खुलेको हो । ट्र्याक खुलेको दुई दशकपछि सडकको स्तरोन्नति गरी कालोपत्र गर्न थालिएको छ ।

सो सडकखण्डमा पहिलो चरणमा विजयपुरखोलाबाट थाकको उकालोसम्म कालोपत्र गर्न थालिएको मादी–७ का वडाध्यक्ष दुर्गाबहादुर गुरुङले बताए । उनका अनुसार बिहान १० देखि साँझ ४ बजेसम्म यातायात पूर्ण बन्द गरेर सडक कालोपत्रको काम भइरहेको छ ।

पोखरा महानगरपालिका–१३ विजयपुरखोलाबाट सिक्लेससम्मको ३२ किमी सडकमध्ये हाल पहिलो चरणमा १० किमीको निर्माण भइरहेको छ । निर्माण कम्पनीले आगामी चैतसम्म कालोपत्र सक्ने प्रतिबद्धता व्यक्त गरेको छ । गुरुङले भने, ‘लामो समयको प्रतीक्षा र मेहनतपछि पक्की सडक हुन थालेपछि गाउँले उत्साहित छन् । यसबाट उत्तरी मादीका बासिन्दलाई राहत मिल्छ ।’

यसैगरी थाकबाट माथिको १० किमी सडकको स्तरोन्नतिको पनि काम शुरू भएको छ । रौताहा कन्स्ट्रक्सनले ६ महीनादेखि सडक फराकिलो बनाउने काम गरिरहेको हो । गण्डकी प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालय कास्कीले सो सडक स्तरोन्नतिका लागि २०७७ सालमा काष्ठमण्डप कन्स्ट्रक्सनसँग ठेक्का सम्झौता गरेको थियो । सो सडकको लागत रू. २२ करोड २६ लाख छ । सडक दाँया–बाँया नालाबाहेक सात मिटर फराकिलो बनाइएको छ ।

मादी गाउँपालिका–१ स्थित सिक्लेस आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यको रूपमा प्रख्यात छ । सुन्दर गुरुङ बस्तीले यहाँ पर्यटकलाई आकर्षित गर्ने गरेको छ । पक्की सडक बनेसँगै सिक्लेससहित ताङतिङ, क्रपुडाँडा, कफूचे ताललगायत मादीका पर्यटकीयस्थलमा जाने पर्यटकलाई समेत सहज हुने विश्वास गरिएको छ ।

सिक्लेसलाई नेपालको शान्ति प्रक्रियाको शुरुआत स्थलका रूपमा समेत लिइन्छ । २०६३ सालमा तत्कालीन विद्रोही नेकपा माओवादी र सरकारका बीच सिक्लेसमा पहिलोपटक वार्ता भएको थियो । तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र सरकारका तर्फबाट गृहमन्त्री कृष्णप्रसाद सिटौलाबीच सिक्लेसमा वार्ता भएको थियो । सिक्लेसमा शान्ति स्तम्भसहित पूर्वाधार पनि निर्माण गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)