ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

मागअनुसार उत्पादन नहुँदा आयातित तरकारीको मूल्य बढ्यो

२०७९ चैत, २  
कोशी प्रदेश
Tvs Raider NA

उदयपुर । हरियो तरकारी उत्पादनका लागि उदयपुर उर्वर भूमि मानिए पनि हरियो तथा मौसमी तरकारीको उत्पादन घट्दा जिल्लाभित्र विभिन्न रासायनिक पदार्थ भएको तरकारीको आयात बढ्न थालेकोे छ । फागुनको पहिलो हप्तासम्म स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारीले जिल्लाभित्र धाने पनि मौसमी तरकारीको उत्पादन कम हुँदा रासायनिक पदार्थ प्रयोग गरिएको र आयातित महँगो तरकारी किनेर खान बाध्य भएको उपभोक्ताहरू बताउँछन् ।

केही समयदेखि जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा उत्पादन भएको मौसमी तरकारी सकिएकाले अहिले जिल्ला गाईघाटका उपभोक्ताले आयातित महँगो सब्जी किनेर खान बाध्य हुन परेको गाईघाट शान्तिनगर टोलका रमा भट्टराईको गुनासो छ । उनी भन्छिन्, ‘स्थानीयस्तरमा उत्पादन भएको हरियो तरकारी सकियो, सब्जी व्यापारीहरूले विभिन्न रासायनिक पदार्थ हालिएका सब्जीहरू बाहिरबाट खरीद गरेर ल्याउँछन्, त्यो पनि दोब्बर महँगो मूल्यमा किनेर खान बाध्य भएका छौं ।’

भट्टराईका अनुसार फागुन दोस्रो हप्तासम्म स्थानीयस्तरमा उत्पादन गरिएका हरियो तरकारीहरू सस्तो मूल्यमा नै उपलब्ध हुने गरेको थियो तर अहिले दोब्बर महँगो मूल्य तिरेर खरीद गर्नुपरेको छ ।     

 दश दिनअघिसम्म प्रतिकिलो काउली रू. ४० देखि ५० मा खरीद गरिन्थ्यो तर अहिले आयातित काउलीको मूल्य प्रतिकिलो रू. १०० देखि १२५ पुगेकोे गाईघाट संगमटोल निवासी देवकी थापा बताउँछिन् ।

मूला प्रतिकिलो रू. ५० देखि ६० रहेकोमा एक हप्तापछि रू. १०० प्रतिकेजी पुगेको छ भने अन्य हरियो सब्जीको मूल्य पनि दोब्बरभन्दा बढी हुनुका साथै ओलिएका, सडेगलेको सब्जी पनि किन्नुपर्ने अवस्था आएको उपभोक्ताले गुनासो गर्न थालेका छन् ।   

 ‘फागुनको पहिलो हप्तासम्म जिल्लाभित्र नै उत्पादन भएका ताजा सब्जीहरू खरीद गरेर सस्तो मूल्यमा विक्री गरियो,’ गाईघाटका एक सब्जी व्यापारी सुकदेव साह भन्छन्, ‘अब जिल्लाभित्रको उत्पादन सकिएपछि जिल्ला बाहिरबाट ल्याउँदा बढी मूल्य तिर्नुपरेकाले बढी मूल्यमा बेच्न बाध्य भएका छौं ।’

आफूहरू तरकारी खरीद गर्न जिल्लाबाहिर सुनसरी झुम्का, फारवेसगन्ज, भीमनगरसम्म पुगेर ल्याउनुपर्दा ताजा सब्जी विक्री गर्न नसकिएको व्यापारीहरू बताउँछन् ।

कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिले ५६८ हेक्टर क्षेत्रफलमा हिउँदे तरकारी उत्पादन हुने गरेको छ भने बर्खे तरकारी ७४६ हेक्टर जमीनमा उत्पादन हुने गरेको छ ।

तरकारी खेती हुँदै आएका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका बेलका र कटारी नगरपालिकाका विभिन्न क्षेत्रलाई हरियो तरकारी पकेट क्षेत्र घोषणा गरिए पनि यो जिल्ला तरकारीमा आत्मनिर्भर बन्न सकेको छैन ।

कृषि ज्ञान केन्द्रका अधिकृत तथा सूचना अधिकारी महेश चौधरीले यो जिल्ला अहिलेसम्म पनि मौसमी तरकारी खेतीमा आत्मनिर्भर बन्न नसकेका कारण चैत, वैशाख र जेठ महिना बाहिरी तरकारीमा भर पर्नुपरेको बताउँछन् । अहिले जिल्लाभित्र काउली, बन्दा, टमाटर गाजर, मूला तथा भिण्डी जिल्ला बाहिरबाट आयात हुने गरेको सब्जी व्यापारी राजेश चौधरीको भनाइ छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)