काठमाडौं । कतारको दोहामा हुन लागेको दशौं अन्तरराष्ट्रिय कृषि प्रदर्शनीमा नेपालले सहभागिता जनाएको छ । कतारस्थित दोहा कन्भेन्सन केन्द्रमा बुधवारदेखि मार्च १९ सम्म हुन लागेको दशौं अन्तरराष्ट्रिय कृषि प्रदर्शनीमा नेपालबाट नेपाल निर्यात व्यवसायी महासंघले भाग लिएको हो ।
प्रदर्शनीमा भाग लिन महासंघका उपाध्यक्ष एवं मेला आयोजक समितिका संयोजक गोविन्द घिमिरेको नेतृत्वमा २१ जना निर्यात व्यवसायी बुधवार कतार प्रस्थान गरेको महासंघका कार्यालय सचिव दीपेश घिमिरेले जानकारी दिए ।
उक्त प्रदर्शनीमा नेपालका तर्फबाट चिया, जडीबुटी, अलैंची, अदुवा, डेरीका उत्पादन तथा वस्तुगत संघको प्रतिनिधित्व रहने घिमिरेले बताए । सोही प्रदर्शनीमा अल्टरनेटिभ हर्बल प्रोडक्ट्स प्रालि, हिमालयन बायो ट्रेड, कञ्चनजंघा टी स्टेट, इलाम टी उत्पादन कम्पनी, जडीबुटी उत्पादन कम्पनी लिमिटेड, एभरेष्ट लार्ज कार्डमम् उद्योगको सहभागिता रहनेछ ।
कतार र नेपालको व्यावसायिक सम्बन्ध वैदेशिक रोजगारको गन्तव्य देश मात्र नभई नेपालका मौलिक उत्पादनको पहिचान र प्रवर्द्धनका लागि मेलामा सहभागी भएको जनाइएको छ । कतार सरकार, नेपाली राजदूतावास, निर्यात व्यवसायी महासंघको संयुक्त प्रयासमा ६ दिने मेलामा सहभागिता जनाइएको हो । प्रदर्शनीमा नेपाल र कतारका व्यवसायीबीच ‘बी टु बी मिटिङ’ र व्यावसायिक सम्झौता गरिने महासंघले जनाएको छ । कतार र नेपालको व्यावसायिक सम्बन्धमा उक्त प्रदर्शनी र दुई संस्थाबीच हुने सम्झौताले नेपालका मौलिक उत्पादन र निर्यात व्यापार प्रवर्द्धनमा थप सहयोग पुग्ने महासंघले विश्वास लिएको छ । रासस