काठमाडौं । पछिल्लो केही दिनयता लगानीकर्ताको मनोबल शेयर बजारप्रति कमजोर भएको छ । सोही कारण बजार निरन्तर आरालो लागेको छ । पछिल्लो १२ कारोबार दिनमा लगातार १ अर्ब रुपैयाँ हाराहारीको मात्रै कारोबार हुँदै आएको छ ।
गत फागुन १४ गते २ अर्ब रुपैयाँ बढीको कारोबार भएयता अहिलेसम्म कुनैपनि दिन डेढ अर्ब रुपैयाँ पनि कारोबार रकम पुग्न सकेको छैन । त्यसमाथि १२ मध्ये ९ कारोबार दिन नेप्से घटेर बन्द भएको छ ।
घटेको बजारमा खरीद कर्ता आए पनि पुनः विक्रेता हाबी भएको देखिन्छ । चैत महीनाका लागि बैंकहरूले ब्याजदर घटाएका छन् भने अर्थतन्त्रका बाह्य क्षेत्रमा सुधार हुँदै आएको छ । यस्तो अवस्थामा पनि लगानीकर्ता बजारप्रति विश्वस्त भएका छैनन् ।
बजारमा विक्रेताले सस्तोमा विक्री गर्न चाहेका छैनन् भने खरीदकर्ताले अझै सस्तोमा खरीद गर्न चाहेको हुँदा कारोबार रकम दिनानुदिन घट्दै गएको छ ।
लगानीकर्ताले रुचाएका अर्थमन्त्री सरकारबाट बाहिरिएका छन् । अब आउने अर्थमन्त्री कस्तो हुने भन्ने दुविधा पनि लगानीकर्तामा रहन सक्छ । यसले गर्दा पनि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा रहेका देखिएको छ । सोही कारण बजार घट्न पनि सकेको छैन भने बढ्न पनि सकेको छैन ।
केही दिन अगाडि ब्याजदर घट्ने खबर सार्वजनिक हुँदा बजार ५० अंकसम्म बढेको थियो । लगानीकर्ताको मनोबलले शेयर बजारमा धेरै प्रभाव पर्ने देखिन्छ । यति बेला बजार धेरै घटेकाले दीर्घकालीन लगानीका लागि उपयुक्त समय भएको जानकारहरू बताउँछन् ।
साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ५ दशमलव ३२ अंक घटेर १ हजार ९३३ दशमलव ३१ विन्दुमा झरेको छ । यस दिन कारोबारमा आएका २५८ धितोपत्रको ३४ लाख २ हजार २६७ कित्ता २६ हजार ३७५ पटकमा रू. १ अर्ब १४ करोड बराबरको खरीदविक्री भएको छ ।
कारोबारमा आएका धितोपत्रमध्ये युनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यी दुवै कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । युनिक नेपाल लघुवित्तको शेयर मूल्य रू. १ हजार ६०४ दशमलव २० र शुभम पावरको रू. ५१६ पुगेको छ ।
त्यस्तै बिहीवार लक्ष्मी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर मूल्य सबैभन्दा बढी ५ दशमलव ७६ प्रतिशत घटेर प्रतिकित्ता रू. ७२० दशमलव ३० मा झरेको छ । त्यस्तै दोस्रोमा नयाँ सारथी लघुवित्तको शेयर मूल्य ४ दशमलव ८० प्रतिशत घटेर रू. ६७७ कायम भएको छ ।
यस दिन एनआईसी एशिया बैंकको सर्वाधिक शेयर खरीदविक्री रू. ४ करोड ९४ लाख बराबरको भएको छ । कम्पनीको शेयर मूल्य रू. ७५० कायम भएको छ । त्यस्तै सर्वाधिक दोस्रोमा नबिल बैंकको रू. ३ करोड ९६ लाख बराबर कारोबार भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक १ दशमलव ४१ प्रतिशत, ‘अन्य’ समूहको शून्य दशमलव १२ प्रतिशत, लगानी समूहको शून्य दशमलव ३५ प्रतिशत र हाइड्रोपावर समूहको परिसूचक शून्य दशमलव ०१ प्रतिशत वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी १ दशमलव १४ प्रतिशत घटेको छ ।