फोर डिजिटको (चारवटा अंक भएको) एसएमएसबाट दिनमा २ लाख रुपैयाँभन्दा बढीको कारोबार हुने गरेको अनुमान छ । मर्कन्टायल, वर्ल्ड लिंक, कनेक्सन नेपाल, वर्ल्ड डिस्ट्रिब्युसनलगायतका ९ सेवा प्रदायक कम्पनीले फोर डिजिटको एसएमएसका लागि सर्टकोड प्रदान गरेका छन् । ‘सबैभन्दा पहिले कम्पनीले आफ्नो सेवा विस्तारको दायरा फराकिलो पार्नुपर्छ र प्रयोगकर्तालाई सन्तुष्टि दिन सक्नुपर्छ अनि मात्र यो सुविधा दिने अधिकार दिइन्छ,’ नेपाल टेलिकम, मोबाइल सेवा निर्देशनालयका प्रमुख जीवनरत्न शाक्यले भने ।
हाल रेडियो, टेलिभिजन, बैंक, त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल, ट्राभल एन्ड टुर्स अपरेटर र बैंकहरूले सर्टकोड सेवा लिएका छन् । समाचार तथा मनोरञ्जनात्मक कार्यक्रममा मत दिनका लागि रेडियो तथा टेलिभिजनले सर्टकोड लिने गरेका छन् । बैंकहरूले ग्राहकलाई खातामा भएको रकमको जानकारी दिन र नयाँ कार्यक्रमबारे जानकारी दिन सजिलो होस् भनी सर्टकोड प्रयोग गर्ने गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले भने यात्रुलाई जाने आउने समय तालिकाबारे जानकारी दिनका लागि यसको प्रयोग गर्दै आएको छ ।
नेपाल टेलिकमका अनुसार सेवा प्रदायक कम्पनी र नेपाल टेलिकमबीच सम्झौता भएपछि मात्र प्रयोगकर्ताले सर्टकोड लिन पाउँछन् । टेलिकमको प्रत्यक्ष सम्बन्ध सेवा प्रदायक कम्पनीसँग हुन्छ । उससँग सम्झौता भएपछि मात्र कम्पनीले यस्तो सुविधा दिन पाउँछन् ।
वर्ष ६, अंक ३६, बिहीवार, २८ असोज २०६७