चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र जंगली जनावरका लागि घाँसे मैदान निर्माण र व्यवस्थापनको काम तीव्र रूपमा भइरहेको छ । चालू आर्थिक वर्ष २०७९/८० मा ५० हेक्टर क्षेत्रफलमा नयाँ घासेमैदान निर्माण गरिएको छ भने १२५ हेक्टर क्षेत्रफलमा व्यवस्थापनको काम सम्पन्न भएको छ । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार अझै एक सय हेक्टर क्षेत्रफलमा घाँसेमैदान व्यवस्थापनको काम भइरहेको छ । नयाँ निर्माणका लागि रू. २५ लाख खर्च भएको उनले बताए । घाँसेमैदान व्यवस्थापनका लागि रू. ३३ लाख ७५ हजार बजेटमा काम भइरहेको छ । यस्तै निकुञ्जले यस वर्ष रू. पाँच लाखको लागतमा पाँचओटा पोखरीसमेत मर्मत गरिएको उनले जानकारी दिए ।
वन्यजन्तुको वासस्थान व्यवस्थापनका लागि घाँसेमैदान व्यवस्थापनको काम गरिएको तिवारीले जानकारी दिए । ‘घाँसे मैदान व्यवस्थापनले वन्यजन्तुको वासस्थान व्यवस्थापनमा सहज हुने भएकाले हरेक वर्ष घासेमैदान र सिमसार क्षेत्र सुधारको काम गर्दै आएका छौं,’ घाँसे मैदान व्यवस्थापनले आहारा प्रजातिका जनावरको संख्या बढाउन सहयोग पुग्ने उनले बताए । रासस