ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पशुपति हिन्दू विश्वविद्यालय स्थापना गरिने

२०७९ चैत, ३  
शिक्षा
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं । सरकारले हिन्दू धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दू विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हिन्दू धर्मको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना गर्न लागेको हो । पर्यटनमन्त्री सुदन किराँतीले सो विश्वविद्यालयका माध्यमबाट हिन्दू धर्मसम्बन्धी विज्ञहरू उत्पादन गर्ने र सांस्कृतिक कूटनीतिक विकास गर्ने उद्देश्यले विश्वविद्यालयको अवधारणा अघि बढाइएको बताए । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले आधुनिक नेपालको सभ्यताको शुरुआत नेपालबाटै भएको भन्दै यहाँको सभ्यता, सम्पदा, संस्कृति र दर्शनलाई पाशुपत दर्शनभित्र समेटिएको बताए ।

मन्त्री किराँतीले विश्वविद्यालय स्थापनाबाट विश्वभर कूटनीतिक बौद्धिक व्यक्तित्व निर्माणका साथै सांस्कृतिक कूटनीतिको विकास हुने र यसले पर्यटनको विकास हुने विश्वास व्यक्त गरे । पर्यटन मन्त्रालयका सचिव सुरेश अधिकारीले ‘ड्रिम प्रोजेक्ट’का रूपमा विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । फागुन १५ को मन्त्रीस्तरीय निर्णयबाट पशुपति क्षेत्र परिसरमा सो विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनसहित अवधारणापत्र तयार गर्न संस्कृतिविद् डा. जगमान गुरुङको संयोजकत्वमा समिति गठन गरिएको छ । समितिका सदस्यमा प्राडा रामचन्द्र गौतम, प्रा चेतोनाथ गौतम, कमल ढकाल र सदस्यसचिवमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)