काठमाडौं । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी), लैनचौरले दूधको मूल्य बढाएको छ । संस्थानले बिहीवारदेखि लागू हुने गरी नयाँ मूल्य ‘प्रिन्ट’ भएको ‘प्याकेट’ दूध बजारमा पठाएको हो ।
संस्थानका निमित्त उपमहाप्रबन्धक एवं सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले बिहीवारदेखि लागू हुने गरी देशभर दूधको मूल्य बढाएको जानकारी दिए ।
यही फागुन १९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार कृषकबाट उत्पादित चार युनिट घृतांश र आठ युनिट घृतांशरहित दुग्ध ठोस पदार्थ भएको कच्चा दूधकोे कृषक खरीद मूल्य प्रतिलिटर न्यूनतम रू. ६५ कायम गरिएको उनले बताए ।
मन्त्रिपरिषद्को निर्णयअनुसार किसानलाई बढेको मूल्य दिइसकेको र उपभोक्ताले नयाँ मूल्य तिर्नुपर्ने डिडिसीले जनाएको छ ।
निलो प्याकेटको मूल्य प्रतिलिटर रू. ११ बढेको छ । यसअघि प्रतिलिटर रू. ८६ रहेको निलो प्याकेटको मूल्य बिहीवारदेखि काठमाडौं, विराटनगर, जनकपुर र हेटौंडामा
रू. ९७ पर्नेछ । त्यस्तै बुटवलमा रू. ९४ तथा नेपालगञ्ज र धनगढीमा रू. ९२ कायम भएको संस्थानले जनाएको छ । रासस