कञ्चनपुर । न्यायिक कार्यलाई छिटो छरितो, पारदर्शी र सर्वसाधारणको पहुँचमा पुर्याउन लागि शुक्लाफाँटा नगरपालिका मेलमिलापकर्ताको क्षमता अभिवृद्धिको काम अघि बढाएको छ । यसका लागि नगरपालिकाले आजदेखि तीनदिने पुनर्ताजगी तथा क्षमता अभिवृद्धि तालीम सञ्चालन गरेको छ । सर्वसाधारणलाई घरदैलोमै मेलमिलापका माध्यमबाट न्याय प्रदान गर्न मेलमिलापकर्ताको क्षमता अभिवृद्धि गर्ने काम शुरू गरिएको नगर उपप्रमुख कल्पना जोशी पन्तले बताइन् ।
‘न्यायिक समितिमा आउने विवाद दर्ता गरिसकेपछि सीधै मेलमिलापका लागि वडामा सूचीकृत मेलमिलापकर्ता कहाँ पठाउने कार्य हुन्छ,’ उनले भनिन्, ‘मेलमिलाप हुन नसकेका विवादलाई वडाका मेलमिलापकर्ताले सीधै न्यायिक समितिमा सिफारिश साथ पठाउनेछ, वडाबाट समितिमा पठाइएका विवाद समाधान नभए सम्बन्धित निकायमा पठाउँछौं ।’ यसअघि विवादको छिनोफानो न्यायिक समितिमार्फत हँुदै आएको थियो । ‘मेलमिलापकर्तालाई कोरोना संक्रमणका कारण विगत वर्षमा पुनर्ताजगी तालीम दिन नसक्दा क्रियाशील पार्न सकेका थिएनौं,’ नगर उपप्रमुख पन्तले भनिन्, ‘तालीमका माध्यमबाट क्षमता अभिवृद्धि गरी विवाद छिनोछानो गर्ने तौरतरीका, ऐन कानूनबारे जानकारी दिई सक्षम बनाउने काममा जुटेका छौं ।’ नगरप्रमुख रणबहादुर महराले न्यायिक समितिले क्षेत्राधिकारबारे प्रष्ट भएर विवादको छिनोछानो गरे न्यायसम्पादनको काम सहज हुने बताए । रासस