ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Saurya cement (riddhi siddhi)

कसरी बनाउने वित्तीय साक्षरतालाई गुणस्तरीय र प्रभावकारी ?

२०७९ चैत, ३  
लेख | दृष्टिकोण
Tvs Raider Image Not Found

नेपाल राष्ट्र बैंकले वित्तीय साक्षरतालाई गुणस्तरीय र प्रभावकारी बनाउन यसको ढाँचा वा रूपरेखा (फाइनान्सियल लिटरेसी फ्रेमवर्क–२०२२) प्रकाशमा ल्याएको छ  । यसले वित्तीय साक्षरता विस्तार र वित्तीय पहुँच विकासका कार्यक्रमहरूलाई थप उपलब्धिपूर्ण बनाउन सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

वित्तीय सम्पन्नता प्राप्त गर्न वित्तीय साक्षरताको प्रमुख भूमिका रहेको विषय सर्वस्वीकार्य भएकाले नै यो विश्वव्यापीरूपमा फैलिएको हो । नर्वे, डेनमार्क, क्यानडा, बेलायत, अमेरिका, अस्ट्रेलियाजस्ता विकसित देशहरूले वित्तीय साक्षरतालाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।

वित्तीय साक्षरताका सम्बन्धमा आवश्यक नीतिहरूको तर्जुमा, कार्यक्रमहरू सञ्चालन, गुणस्तरीय तालिम पुस्तिका तथा पाठ्यक्रमहरूको निर्माण, कार्यक्रमहरू सञ्चालनका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई सहजीकरण गर्ने कुरा नेपाल राष्ट्र बैंकले सो रूपरेखामा उल्लेख गरेको छ । वित्तीय पहुँच विकास, वित्तीय उपभोक्ताहरूको संरक्षण र वित्तीय समावेशिताका लागि वित्तीय साक्षरता महत्त्वपूर्ण आधार भएकाले यसलाई गुणस्तरीय बनाई वित्तीयरूपले सक्षम नागरिक र सम्पन्न नेपाल बनाउने दूरदृष्टिका साथ यो रूपरेखा (फ्रेमवर्क) तयार भएको हो ।

फ्रेमवर्कको मुख्य ध्येय मानिसलाई सही वित्तीय निर्णय लिन सघाउनु, उपयुक्त वित्तीय सेवा तथा उत्पादनमा उनीहरूको पहुँच बढाउनु, औपचारिक माध्यमबाट वित्तीय कारोबार गर्ने कार्यलाई  प्रवर्धन गर्नु रहेको छ । फ्रेमवर्कको मुख्य जोड असल वित्तीय व्यवहार निर्माण नै हो किनभने असल वित्तीय व्यवहारको अभावमा ज्ञान र शीपले मात्र वित्तीय सम्पन्नता प्राप्त गर्न सकिँदैन ।  

विद्युतीय बैंकिङका बारेमा जनचेतना विस्तार गर्ने, विद्युतीय कारोबारमा सावधानी अपनाउने, वित्तीय कारोबारमा हुने छलकपटबाट जोगिन वित्तीय उपभोक्तालाई सचेत बनाउने उद्देश्य फ्रेमवर्कको रहेको छ । सूचनाप्रविधिको विकाससँगै विश्वव्यापी रूपमा विद्युतीय कारोबार विस्तार भएको सन्दर्भमा यससम्बन्धी जनचेतनाको विस्तार समयको माग पनि हो । समयको बचत, कारोबारको सुरक्षा र पारदर्शिता, वित्तीय गोपनीयता, भौतिक मुद्राको छपाइखर्च कटौती आदि विभिन्न फाइदाहरूले गर्दा विद्युतीय कारोबारको विस्तार अपरिहार्य छ । तर, यसको प्रयोगमा सावधानी अपनाउनुपर्ने विषयमा पर्याप्त जनचेतना विकास हुनुपर्नेमा फ्रेमवर्कको जोड छ । नेपालजस्तो प्रविधिको ज्ञान कम भएको मुलुकका यस्तो चेतनाको आवश्यकता बढी छ ।   

फ्रेमवर्कले नियमित आम्दानी गर्ने र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति, विद्यार्थी, युवा, महिला र विप्रेषण प्राप्त गर्ने व्यक्तिहरूलाई वित्तीय साक्षरताका लक्षितवर्ग भनी वर्गीकरण गरेको छ । यी सबैलाई वित्तीय साक्षरताको आवश्यकता छ । यिनै लक्षितवर्गलाई आधार मानी यसका सामग्री र कार्यक्रमहरू बनाइनुपर्छ ।

फ्रेमवर्कमा वित्तीय साक्षरतालाई आधारभूत र उच्च गरी दुईस्तरमा विभाजन गरेको छ । आधारभूत स्तरमा आम्दानी, बचत, ऋण, लगानी, खर्च आदिका बारेमा स्पष्ट बुझाइ हुनुपर्ने र उच्चस्तरमा वित्तीय सेवाहरूका बारेमा जानकारी, वित्तीय निर्णय र व्यक्तिगत वित्तीय व्यवस्थापनसम्बन्धी शीपको प्रयोग हुनुपर्ने कुरा उल्लेख गरिएको छ ।
सही वित्तीय सेवाहरूको छनोटका साथै वित्तीय सेवाप्रदायकले उपभोक्ताहरूलाई उनीहरूको कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनुपर्ने विषयलाई पनि फ्रेमवर्कले समेटेको छ ।

वित्तीय साक्षरताको गुणस्तर र प्रभावकारिताको सुनिश्चितताका लागि स्तरीय तालीम पुस्तिका तयार पार्ने र कार्यक्रमहरू सञ्चालन गर्दा उक्त पुस्तिकालाई आधार मानी सञ्चालन गरिने कुरा फ्रेमवर्कमा उल्लेख छ । अहिले विभिन्न संस्थाहरूले आ–आफ्नै किसिमले वित्तीय तालीम पुस्तिकाहरू निर्माण गरिरहेको सन्दर्भमा तिनको गुणस्तरीयता र प्रभावकारिताका लागि फ्रेमवर्कले तयार गर्न खोजेको तालिम पुस्तिका सबैका लागि मार्गदर्शक बन्न सक्ने देखिन्छ ।

व्यक्तिगत परामर्श र प्रवचनहरू, छपाइ सामग्रीहरू, तालीम पुस्तिका, कविता, कथा आदि वित्तीय सचेतना विस्तारका माध्यमहरू हुने कुरा फ्रेमवर्कले समेटेको छ । त्यस अतिरिक्त मोबाइल एप तथा वेबसाइटहरू, अनलाइन गेमहरू, सडकनाटक आदि अन्य माध्यमहरू हुनेछन् ।

फ्रेमवर्कले वित्तीय साक्षरता विस्तारका लागि विभिन्न संघसंस्थाका जिम्मेवारीहरू पनि निर्धारण गरेको छ । यसअनुसार वित्तीय साक्षरतासम्बन्धी गुणस्तरीय ज्ञान सामग्रीहरू तयार गर्ने, कार्यक्रमहरू सञ्चालन गर्ने, अनुगमन, नियमन, आवधिक समीक्षा, प्रशिक्षक प्रशिक्षणसम्बन्धी तालीम तथा सरोकारवालाहरूसँग समन्वय गर्ने जिम्मेवारी राष्ट्र बैंकको भएको उल्लेख छ । फ्रेमवर्कका अनुसार ज्ञान सामग्रीहरूको तयारी, फ्रेमवर्कको कार्यान्वयन, कार्यक्रमहरूको नियमन र रिपोर्टिङको जिम्मेवारी बैंक तथा वित्तीय संस्थाको रहेको छ । गैरबैंकिङ संस्थाहरूले पनि फ्रेमवर्कको कार्यान्वयन गर्नेछन् ।

फ्रेमवर्कका अनुसार वित्तीय साक्षरता कार्यक्रम विस्तारका लागि नेपाल राष्ट्र बैंकले बीमा, धितोपत्र बोर्ड, मन्त्रालयहरू, सहकारी विभाग, पाठ्यक्रम  विकास केन्द्र, शैक्षिक संस्थाहरू, चलचित्र विकास बोर्ड सहकारी विभाग आदिसँग आवश्यक समन्वय र सहकार्य गर्नेछ ।   

फ्रेमवर्कको सफल कार्यान्वयनबाट वित्तीय साक्षरतामा गुणस्तरीयता कायम भई वित्तीय पहुँच, वित्तीय समावेशितामा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ । यसबाट अनौपचारिक वित्तीय कारोबारको न्यूनीकरण र औपचारिक कारोबारको प्रयोग उल्लेख्य रूपमा बढ्ने, बचतको उल्लेख्य वृद्धि हुने, आर्थिक कारोबारको पारदर्शिता कायम गर्ने र शंकास्पद आर्थिक कारोबारको नियन्त्रण गर्न मद्दत पुग्ने देखिन्छ । त्यसैगरी, वित्तीय सेवाहरूको प्रभावकारी प्रयोगले आम्दानी वृद्धि र जीवनस्तर अभिवृद्धिमा टेवा पुग्ने, वित्तीय उपभोक्ताहरू वित्तीय सेवा उपभोगका मामलामा सचेत हुने कुराहरूको पनि अपेक्षा गरिएको छ ।

समग्रमा आर्थिक समृद्धि प्राप्त गर्न वित्तीय सचेतनाको समसामयिक आवश्यकतालाई मनन गरी आर्थिक नीतिहरूको तर्जुमा तिनको कार्यान्वयन तथा व्यवस्थापनको एक जिम्मेवार निकायका रूपमा राष्ट्र बैंकले अघि सारेको वित्तीय साक्षरता रूपरेखा/फ्रेमवर्कले आफ्नो उद्देश्यबमोजिम वित्तीय साक्षरतालाई प्रभावकारी बनाई वित्तीय पहुँच, वित्तीय समावेशिता प्राप्त गर्न ठूलो टेवा पुर्‍याउन सक्ने विश्वास छ । यसका लागि सम्बद्ध सरोकारवालाहरू बीच राम्रो सहकार्य र समन्वय हुनु नितान्त आवश्यक देखिन्छ ।   

लेखक वित्तीय साक्षरता अभियानमा संलग्न छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Sunrise BankTVCNepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)